नेप्सेको ओरालो यात्रामा ‘ब्रेक’: तीन दिनको गिरावटपछि ३.२७ अंकको सुधार
काठमाडौँ, ८ पुस । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल शेयर बजार (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। विगत तीन कारोबार दिनदेखि लगातार घटिरहेको बजारमा आज भने झिनो सुधार देखिएको हो।
नेप्से परिसूचक आज ३.२७ अंकले उकालो लाग्दै २५८४.४९ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स १.५७ अंक, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ०.३१ अंकले बढेका छन्।
बजार परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने सोमबारको तुलनामा केही गिरावट आएको छ। आज ३२८ कम्पनीका ७६ लाख ६८ हजार कित्ता शेयर ९२ हजार ७४६ पटकको कारोबारमा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको शेयर कारोबार भएको थियो।
आजको बजारमा एसवाई प्यानल नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको शेयर मूल्य ७.०१ प्रतिशतले बढेको छ। यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्तको शेयर मूल्य पनि करिब ६ प्रतिशतका दरले वृद्धि भएको छ।
यता, सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने आज सबैभन्दा बढी ५.९७ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल नै शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३० करोड ९८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस्तै, सागर डिष्टिलरीको साढे ८ करोड र सीईडीबी होल्डिङ्सको ७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये ७ वटाको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ। ‘अन्य’ उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ। उता विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूह भने आज राताम्मे देखिएका छन्।