बेलायतमा ‘वर्क परमिट’ का नाममा नेपाली ठगिने क्रम बढ्यो: सचेत रहन दूतावासको आग्रह
लण्डन (बेलायत), २१ पुस । बेलायतमा ‘वर्क परमिट’ र आकर्षक रोजगारी दिलाइदिने बहानामा नेपालीहरू ठगीमा पर्ने क्रम बढेको भन्दै लण्डनस्थित नेपाली दूतावासले गम्भीर ध्यानाकर्षण गराएको छ। दूतावासले सोमबार एक सार्वजनिक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक (Sponsor) खोजिदिने नाममा भइरहेको ठगीबाट सचेत रहन सबैमा आग्रह गरेको हो।
दूतावासका अनुसार पछिल्लो समय नेपालबाट बेलायत आउन चाहनेहरू र बेलायतमै रहेर कामको खोजी गरिरहेका नेपालीसमेत यस्तो ठगीको निशानामा परेका छन्। अचम्मको कुरा के छ भने, ठगी गर्ने गिरोहमा नेपालीमूलकै व्यक्तिहरू संलग्न रहेको र कतिपय अवस्थामा चिनेजानेकै व्यक्तिमार्फत तेस्रो मुलुकका एजेन्टको सम्पर्कमा पुगी नेपालीहरूले मोटो रकम गुमाइरहेको पाइएको छ।
“ठगीको यो सञ्जाल नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय अपराध हो,” दूतावासको विज्ञप्तिमा भनिएको छ, “यस्तो समस्यामा परेका व्यक्तिहरूले तत्काल नेपालका अनुसन्धान गर्ने निकायका साथै बेलायतको स्थानीय प्रहरी र नेशनल एन्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्नुपर्छ।”
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितलाई न्याय दिलाउन दूतावासले पूर्ण सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। समस्यामा परेका वा शङ्कास्पद लेनदेनको प्रस्ताव आएका नेपालीलाई दूतावासको आधिकारिक इमेल वा हटलाइन नम्बर +४४-७४०४९३९२७४ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।