बक्यौता असुलीमा आन्तरिक राजस्व कार्यालय भैरहवाको सक्रियता : लक्ष्यभन्दा २१ प्रतिशत बढी राजस्व सङ्कलन
रुपन्देही, २३ पुस । आन्तरिक राजस्व कार्यालय भैरहवाले बाँकी रहेको करिब रु एक अर्ब २५ करोड बक्यौता असुलीका लागि विशेष अभियान सञ्चालन गरेको छ । कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क नबुझाएका करदाताहरूको घरदैलोमै पुगेर राजस्व दाखिलाका लागि ताकेता सुरु गरेको हो ।
विसं २०८२ कात्तिकदेखि सुरु गरिएको यस अभियानअन्तर्गत करदाताहरूलाई विभिन्न माध्यमबाट सचेत गराउने कार्य भइरहेको छ । कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलका अनुसार सुरुमा करदाताको व्यावसायिक ठेगानामा पत्राचार गरिएको र त्यसपछि घर–ठेगानामा समेत पत्र पठाइएको छ । “हामीले करदाताको मोबाइलमा सन्देश (एसएमएस) पठाउनुका साथै प्रत्येकलाई टेलिफोनमार्फत पनि सम्पर्क गरेका छौँ,” प्रमुख कर अधिकृत पोखरेलले भन्नुभयो, “बक्यौता असुलीलाई प्रभावकारी बनाउन स्रोत व्यक्ति (फोकलपर्सन) नै तोकेर फलोअप गरिरहेका छौँ ।”
कार्यालयले लामो समयदेखि विवरण नबुझाएका करदाताहरूको खोजीका लागि तीन जना कर्मचारीलाई ‘डेडिकेटेड’ रूपमा खटाएको छ । सूचना प्रवाहका लागि सम्बन्धित स्थानीय तह र वडा कार्यालयहरूमा करदाताको सूची टाँस गरिएको छ भने सामाजिक सञ्जाल र जनप्रतिनिधिहरूको समेत सहयोग लिइएको छ ।
कार्यालयले करदातालाई राहत दिने उद्देश्यले सरकारले ल्याएको छुट सुविधाको उपयोग गर्न आग्रह गरेको छ । कर अधिकृत गौरव पाण्डेका अनुसार विसं २०८२ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण र करसँगै लाग्ने २५ प्रतिशत ब्याज बुझाएमा बाँकी सबै जरिवाना र थप दस्तुर मिनाहा हुने व्यवस्था छ । यस्तै, अन्तःशुल्क तर्फको बक्यौता र विलम्ब शुल्कको ५० प्रतिशत बुझाएमा बाँकी जरिवाना मिनाहा हुने भएकाले पुस मसान्तभित्रै यसको लाभ लिन कार्यालयले अनुरोध गरेको छ ।
हाल यस कार्यालयअन्तर्गत मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदाताको सङ्ख्या तीन हजार ६०० रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मङ्सिर) मा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आन्तरिक राजस्व विभागले रु पाँच अर्ब ३६ करोड ८३ लाख सङ्कलनको लक्ष्य दिएकामा कार्यालयले १२१.१ प्रतिशत अर्थात् रु छ अर्ब ५० करोड ३२ लाख सङ्कलन गरेको छ ।
यो सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.२ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा रु चार अर्ब ५१ करोड आठ लाख मात्र राजस्व सङ्कलन भएको थियो ।
प्रमुख कर अधिकृत पोखरेलका अनुसार अर्थतन्त्रमा आएको सुधार, प्रभावकारी बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, करदाता शिक्षा र नक्कली बीजक जारी गर्नेहरूमाथिको कडा अनुसन्धानका कारण राजस्व सङ्कलनमा उत्साहजनक वृद्धि देखिएको हो ।
आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रभित्र ८२ हजारभन्दा बढी व्यावसायिक करदाता रहेका छन् । यस कार्यालयले रुपन्देहीका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा (केही वडा), देवदह (केही वडा), लुम्बिनी सांस्कृतिक नगरपालिका सहित विभिन्न गाउँपालिका र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लालाई समेटेको छ ।