सुनको मूल्यमा ऐतिहासिक छलाङ: पहिलोपटक तोलाको ३ लाख नाघ्यो
काठमाडौं, ९ माघ । नेपाली बजारमा सुनको मूल्यले आज (शुक्रबार) नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो केही समयदेखि लगातार बढिरहेको सुनको भाउमा एकैदिन ९ हजार २०० रुपैयाँको भारी वृद्धि भएसँगै मूल्यले ऐतिहासिक उचाइ छोएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ तोकिएको छ । यो नेपाली सुन बजारको इतिहासमै हालसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । शुक्रबार चाँदी प्रतितोला ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८७० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर देखिएको महासंघले जनाएको छ ।