इरान नजान र त्यहाँ रहेकालाई तत्काल फर्कन परराष्ट्रको आग्रह, ‘ट्राभल एड्भाइजरी’ जारी
काठमाडौं, १८ माघ । परराष्ट्र मन्त्रालयले इरानमा विकसित पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै नेपाली नागरिकहरूका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ।
मन्त्रालयले आइतबार एक सूचनामार्फत इरान भ्रमणको योजना नबनाउन र त्यहाँ रहेका नेपालीलाई यथाशक्य चाँडो स्वदेश फर्कन आग्रह गरेको हो।
मन्त्रालयले इरानको अवस्था सामान्य नहुँदासम्मका लागि भ्रमण स्थगित गर्न सचेत गराएको छ। साथै, काम वा बसोबासको सिलसिलामा इरानमा रहेका नेपाली नागरिकहरूलाई पनि उपलब्ध कुनै पनि माध्यमबाट तत्काल इरान छाड्न सुझाव दिइएको छ।
परराष्ट्रले जारी गरेको एड्भाइजरीमा भनिएको छ, ‘पछिल्लो घटनाक्रमलाई मध्यनजरमा राखेर नेपाली नागरिकहरूलाई अवस्था सामान्य नहुँदासम्मका लागि इरान भ्रमणको योजना नबनाउन अनुरोध गरिन्छ। बसोबास गर्दै आएका वा कामको शिलशिलामा रहेका नागरिकहरूलाई पनि सकेसम्म चाँडो इरान छाड्न सुझाव छ।’
मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई जुनसुकै बेला आपतकालीन रूपमा देश छाड्नुपर्ने अवस्था आउन सक्ने भन्दै राहदानी, परिचयपत्र लगायतका महत्त्वपूर्ण कागजातहरू तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। आवश्यक समन्वय र उद्धारका लागि कतारको दोहास्थित नेपाली दूतावास वा काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।