माइनस १० डिग्रीको चिसोमा तातियो मुस्ताङको चुनाव : हिउँ छिचोल्दै उम्मेदवार घरदैलोमा, फेरिएको छ राजनीतिक समीकरण

मुस्ताङ, १४ फागुन । हिमाली जिल्ला मुस्ताङमा यतिबेला तापक्रम माइनसमा झरेको छ, तर राजनीतिक सरगर्मी भने उत्कर्षमा पुगेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै ठिही र प्रतिकूल मौसमका बाबजुद उम्मेदवारहरू हिउँ छिचोल्दै मतदाताको घरदैलोमा पुगेका छन् ।

अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुगेको थियो । हाल चिसो केही घटे पनि माथिल्लो मुस्ताङमा माइनस १० र तल्लो मुस्ताङमा माइनस ३ डिग्री सेल्सियस तापक्रम रहेको छ । यद्यपि, चिसोलाई बेवास्ता गर्दै तल्लो मुस्ताङको घाँसादेखि चीनको सिमाना कोरला नाकासम्मै चुनावी प्रचारप्रसार तीव्र पारिएको छ ।

विसं २०७९ को निर्वाचनसम्म मुस्ताङमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मात्रै मुख्य प्रतिस्पर्धा हुने गरेको थियो । तर, यसपटक समीकरण फेरिएको छ । यहाँ मुख्य गरी एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीबीच चारपक्षीय कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उज्यालो नेपाल पार्टीले पनि बलियो उपस्थिति देखाउँदै मुख्य दलहरूलाई चुनौती दिइरहेका छन् ।

यसबाहेक मङ्गोल नेशनल अर्गनाइजेसन, आम जनता पार्टी र स्वतन्त्र उम्मेदवारहरू पनि आफ्नो एजेन्डासहित प्रचारमा व्यस्त छन् ।

मुस्ताङका उम्मेदवारहरूले यसपटक जिल्लाको विकास र राष्ट्रिय महत्त्वका विषयलाई प्राथमिकता दिएका छन्:
कोरला नाका: भन्सार अध्यागमन र एकीकृत सुरक्षा पोस्ट निर्माण ।
पर्यटन: कोरला हुँदै मानसरोवर जाने मार्गको विकास र माथिल्लो मुस्ताङको निषेधित क्षेत्र खारेजी ।
पूर्वाधार: मुस्ताङ–डोल्पा र मुस्ताङ–मनाङ सडकमार्गको पूर्णता ।
कृषि र शिक्षा: कृषि आधुनिकीकरण र मुस्ताङमै स्नातक तहसम्मको गुणस्तरीय शिक्षा ।
जग्गा प्रशासन: सुकुम्वासीलाई लालपुर्जा वितरण र विसं २०३० सालमा नापी हुन छुटेका जग्गाको पुनः नापनक्सा ।

जाडो छल्नका लागि मुस्ताङका अधिकांश मतदाताहरू पोखरा, काठमाडौँ र अन्य बेँसीका क्षेत्रमा झरेका छन् । निर्वाचनको मिति नजिकिँदा पनि धेरै मतदाता जिल्ला फर्किएका छैनन् । उम्मेदवार र राजनीतिक दलहरूले उनीहरूलाई गाउँ फर्काउन विशेष पहल गरिरहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार मतदान केन्द्रमा खटिने कर्मचारीहरूको व्यवस्थापन र तालिम सम्पन्न भइसकेको छ । “निर्वाचनको सम्पूर्ण प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ, कर्मचारीहरू खटिने क्रममा छन्,” उहाँले भन्नुभयो ।

सुरक्षाका लागि ‘एकीकृत सुरक्षा योजना’ लागू गरिएको छ:
नेपाल प्रहरी: ५०१ जना परिचालित । सशस्त्र प्रहरी: निर्वाचन प्रहरीसहित २०० भन्दा बढी ।
नेपाली सेना: माथिल्लो र तल्लो मुस्ताङमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी गस्ती बढाइएको छ ।
हिउँले ढपक्कै ढाकेको मुस्ताङमा फागुन २१ को नतिजा कसको पक्षमा जान्छ भन्ने कुराले अहिले राष्ट्रिय राजनीतिमै चासो जगाएको छ ।