निर्वाचन सुरक्षा व्यवस्था सुदृढ : निर्धक्क भई मतदान गर्न सुरक्षा निकायको अपिल

काठमाडौँ,  फागुन १९  । यही फागुन २१ गते देशभर एकैचरणमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था अत्यन्त चुस्त र प्रभावकारी बनाइएको सुरक्षा निकायहरूले जनाएका छन्। नेपाली सेनासहितका सबै सुरक्षा अंगहरूले एकीकृत सुरक्षा योजनाअनुसार कार्यक्षेत्रमा तैनाथी पूरा गरिसकेको भन्दै आम मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।

एकीकृत सुरक्षा र जनशक्ति परिचालन
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी र फौजको परिचालन भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सबै सुरक्षा निकायबीचको उच्च समन्वय र सहकार्यमा सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ।

निर्वाचन सुरक्षाका लागि देशभर साढे तीन लाखभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।

  • नेपाली सेना: ७९,७२७

  • नेपाल प्रहरी: ७५,७९७

  • सशस्त्र प्रहरी बल: ३४,५६७

  • राष्ट्रिय अनुसन्धान विभाग: १,९२१

  • म्यादी प्रहरी: १,४९,०९०

निगरानी र कारबाही तीव्र
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले सबै मतदान केन्द्रमा प्रहरी टोली र निर्वाचन सामग्री पुगिसकेको बताउनुभयो । मौन अवधिमा हुन सक्ने आचारसंहिता उल्लंघन, निर्वाचन विरोधी गतिविधि र सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रहरीले कडा निगरानी थालेको छ । साइबर प्रहरीको विशेष निगरानीका क्रममा सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा अहिलेसम्म ३४ जना पक्राउ परिसकेका छन् ।

सीमा नाका बन्द र विशेष गस्ती
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमावर्ती क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष सतर्कता अपनाइएको जानकारी दिनुभयो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गए रातिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाकाहरू पूर्ण रूपमा बन्द गरिएका छन्। देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गरी नियमित गस्ती र ‘चेकप्वाइन्ट’ मार्फत सुरक्षा जाँच तीव्र पारिएको छ।

मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा
निर्वाचनको तयारीका सिलसिलामा देशभरका मतदान केन्द्रहरू व्यवस्थापन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। मतदान अधिकृत र कर्मचारीहरूले सर्वदलीय बैठक सम्पन्न गरी मतदान स्थल निर्माण र व्यवस्थापनका काम गरिरहेका छन्।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार फागुन २१ गते बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म हुने मतदानका लागि सम्पूर्ण व्यवस्थापकीय कार्य पूरा भएको छ । सुरक्षा निकायहरूले मतदातालाई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न अनुकूल वातावरण सुनिश्चित गरिएको भन्दै ढुक्क भएर मतदान केन्द्रसम्म पुग्न अनुरोध गरेका छन् ।