इरानद्वारा आत्मसमर्पण नगर्ने उद्घोष : छिमेकी राष्ट्रहरूसँग माफी माग्दै नयाँ नीति सार्वजनिक

काठमाडौँ, फागुन २३ । मध्यपूर्वमा जारी युद्ध दोस्रो हप्तामा प्रवेश गरिरहेका बेला इरानले इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने दृढता व्यक्त गरेको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले राष्ट्रका नाममा सम्बोधन गर्दै बाह्य दबाबका बाबजुद आफ्नो देशले सङ्घर्ष जारी राख्ने स्पष्ट पार्नुभएको हो । सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै राष्ट्रपति पेजेस्कियानले इरानी जनतालाई सैन्य बलका आधारमा झुकाउन सकिन्छ भन्ने सोच्नु शत्रु पक्षको गम्भीर भूल हुने टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “हाम्रा शत्रुहरूले यो बुझ्नुपर्छ कि इरानी जनताले केवल आफ्नो चिहानमा पुगेर मात्र विनासर्त आत्मसमर्पण गर्ने सोच्न सक्छन्, जीवित रहँदासम्म यो सम्भव छैन।”

तनावको पृष्ठभूमि र नेतृत्व परिवर्तन
गत फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम सीमामा पुगेको छ। सो आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएको खबर सार्वजनिक भएसँगै मध्यपूर्वमा द्वन्द्वले उग्र रूप लिएको हो।

सर्वोच्च नेता खामेनीको निधनपछि इरानमा शासन सञ्चालनका लागि तीन सदस्यीय ‘अन्तरिम नेतृत्व परिषद्’ गठन गरिएको छ। राष्ट्रपति पेजेस्कियान आफैँ पनि उक्त परिषद्को सदस्यका रूपमा जिम्मेवारी सम्हालिरहनुभएको छ।

जवाफी कारबाही र क्षेत्रीय प्रभाव
आक्रमणको प्रतिक्रिया स्वरूप इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका इजरायली तथा अमेरिकी सामरिक लक्ष्यहरूमा मिसाइल र ड्रोन प्रहार गरिरहेको छ। यस्ता सैन्य कारबाहीहरू विशेषगरी खाडी राष्ट्रहरूमा केन्द्रित रहेको बताइएको छ।

छिमेकी राष्ट्रहरूसँग क्षमायाचना र नयाँ प्रतिबद्धता
आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति पेजेस्कियानले इरानको सैन्य कारबाहीका कारण प्रभावित भएका छिमेकी देशहरूसँग व्यक्तिगत तथा राजकीय तर्फबाट क्षमायाचना गर्नुभएको छ। इरानले छिमेकी राष्ट्रहरूलाई लक्षित गर्ने कुनै पनि नीति नलिएको उहाँको दाबी छ।

नयाँ सुरक्षा नीतिबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “अन्तरिम नेतृत्व परिषद्ले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई संवेनदशील रूपमा लिएको छ। अब छिमेकी मुलुकहरूको भूमि प्रयोग गरी इरानमाथि आक्रमण नभएसम्म ती देशहरूतर्फ कुनै पनि मिसाइल प्रहार नगर्ने निर्णय भएको छ।”

यस घोषणालाई मध्यपूर्वमा थप द्वन्द्व चर्किन नदिने र छिमेकी राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुधार्ने इरानको प्रयासका रूपमा हेरिएको छ।