समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेसहोल्ड’, ६ दल मात्रै संसद्मा
काठमाडौँ, २७ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ भाग लिएका कुल ५७ राजनीतिक दलमध्ये ५१ वटा दलले संसद्मा प्रतिनिधित्वका लागि आवश्यक न्यूनतम मत सीमा (थ्रेसहोल्ड) कटाउन सकेनन् ।
यससँगै अब ६ वटा राजनीतिक दलले मात्रै समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा प्रवेश पाउने निश्चित भएको छ ।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार, समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ सदर मत गणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गर्दै फराकिलो अन्तरले पहिलो स्थान हासिल गरेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख ४ हजार ८५४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ लाख ५ हजार ७७३ मत प्राप्त गरेका छन् । नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४७२ मत ल्याएर थ्रेसहोल्ड कटाउन सफल भएका छन् ।
आयोगका अनुसार, सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको कुल सदर मतको कम्तीमा ३ प्रतिशत प्राप्त गर्ने दललाई मात्रै सिट बाँडफाँट गरिने कानुनी व्यवस्था छ । यसरी प्राप्त मत सङ्ख्याको अनुपातमा दलको तर्फबाट बन्दसूचीमा रहेका उम्मेदवारहरू सांसदमा निर्वाचित हुन्छन् ।
यसका साथै, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ कम्तीमा एक सिट जित्ने दलले मात्र ‘राष्ट्रिय दल’ को आधिकारिक मान्यता प्राप्त गर्नेछन् ।
सहप्रवक्ता जिसीका अनुसार, समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा एक सिट पनि प्राप्त गर्न नसक्ने दलले राखेको धरौटी कानुनतः जफत हुनेछ । त्यस्तै, प्रत्यक्षतर्फ मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको पनि धरौटी जफत हुनेछ । यद्यपि, कम मत ल्याएर पनि चुनाव जित्ने (निर्वाचित हुने) उम्मेदवारको हकमा भने यो नियम लागू हुँदैन ।
राष्ट्रिय राजनीतिमा चर्चामा रहेका केही दलहरूसमेत यसपटक थ्रेसहोल्ड कटाउन असफल भएका छन् । जनमत समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ५०१ र जनमत पार्टीले ७९ हजार मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै, एकल चिह्न ‘चकिया’ लिएर लडेका दलहरूले ६१ हजार ६७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार २४६, राष्ट्र निर्माण दलले ३८ हजार ९३३ र राष्ट्रिय जनमोर्चाले २९ हजार ४४२ मत प्राप्त गरेका छन् ।
साना दलहरूमध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २३ हजार ८५१, मङ्गोल नेशनल अर्गनाइजेसनले २० हजार ८०६ र एकल चिह्न ‘मोबाइल’ लिएका दलहरूले १३ हजार ४४५ मत पाएका छन् ।
यसबाहेक, राष्ट्रिय मुक्ति आन्दोलन, स्वाभिमान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी, नेकपा (माले), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टीलगायत दर्जनौँ दलले १० हजारदेखि दुई हजारसम्म मत ल्याएका छन् । पिपुल फस्ट पार्टी, नेपाली कांग्रेस (बीपी), नागरिक शक्ति नेपाललगायतका ९ वटा दलले भने दुई हजारभन्दा कम मत प्राप्त गरेको आयोगले जनाएको छ ।