निर्वाचन परिणामबारे ओलीको प्रतिक्रिया : ‘अपेक्षाकृत नतिजा आएन, तर जनताको फैसला शिरोधार्य छ’

काठमाडौँ, २८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो पार्टीको अपेक्षाअनुसार नआएको स्वीकार गरेका छन् । यद्यपि, उहाँले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने भन्दै त्यसलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा सहभागी सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गरेका हुन् । “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, त्यसलाई शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो,” ओलीले सन्देशमा भनेका छन्, “म जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्छु ।”

यस कठिन परिस्थितिमा पनि एमालेको चुनाव चिह्न ‘सूर्य’ मा मतदान गर्ने मतदाता, पार्टीका नेता, कार्यकर्ता, स्वयंसेवक र शुभेच्छुकहरूलाई उनले विशेष धन्यवाद दिएका छन् । समर्थकहरूको विश्वास र साथ नै पार्टीको मुख्य शक्ति र ताकत भएको उहाँको भनाइ छ ।

निर्वाचनको नतिजा आफ्नो पक्षमा नआए पनि एमालेको जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कुनै कमी नआउने अध्यक्ष ओलीले स्पष्ट पारेका छन् ।

जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउने अठोट व्यक्त गर्दै उनले भनेका छन्, “हामी निरन्तर जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ । मत दिनुहुने, साथ दिनुहुने र विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।”