काठमाडौँ महानगर र वीर अस्पताल बिच सम्झौता : महिलाको क्यान्सर परीक्षण र प्रारम्भिक उपचार निःशुल्क हुने

काठमाडौँ, चैत ३ । काठमाडौँ महानगरपालिका र वीर अस्पताल बिच महिलाहरूमा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि औपचारिक सम्झौता भएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको उपस्थितिमा शुक्रबार उक्त सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पत्रमा महानगरको स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी. र वीर अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माले हस्ताक्षर गर्नुभयो । नसर्ने रोगहरूमध्ये क्यान्सर एक जटिल समस्याका रूपमा रहेकाले समयमै पहिचान गरी मानवीय क्षति कम गर्ने उद्देश्यले यो सहकार्य सुरु गरिएको महानगरले जनाएको छ ।

कार्यवाहक प्रमुखको निर्देशन : सेवा सहज र पहुँचयोग्य बनाउनू
सम्झौता कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले कामकाजी महिला र गृहिणीहरूको व्यस्ततालाई ध्यानमा राख्दै सेवा लिने समय तालिका लचिलो बनाउन निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “धेरै समय कुर्नु नपर्ने गरी व्यवस्थापन मिलाउनुहोस्। विशेषगरी अपाङ्गता भएका महिलाहरूलाई प्राथमिकता दिनुहोला। क्यान्सरबारे रहेका भ्रम चिर्न र नियमित परीक्षणका लागि सचेतना फैलाउनु आवश्यक छ।”

परीक्षण प्रक्रिया र लक्षित समूह
वीर अस्पतालका निर्देशक प्रा. डा. शर्माले लक्षण नदेखिए पनि परीक्षण गराउनु पर्नेमा जोड दिँदै यस वर्षको कार्यक्रमलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी.का अनुसार ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरू यस कार्यक्रमको मुख्य लक्षित समूह हुन्। विशेषगरी अघिल्लो वर्ष परीक्षणमा छुटेका र परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएका महिलाहरूलाई यस वर्ष प्राथमिकता दिइनेछ।

चैत १६ देखि सेवा सुरु हुने
यो विशेष अभियान आगामी चैत १६ गतेदेखि सुरु हुनेछ। दैनिक १०० देखि १२० जनासम्मको परीक्षण गर्ने गरी तयारी गरिएको छ। सेवा लिन चाहने महिलाहरूले सुरुमा आफ्नो नजिकैको महानगर स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर विवरण दर्ता गराउनुपर्नेछ। केन्द्रबाट प्राप्त हुने ‘रेफरल स्लिप’ मा तोकिएको मिति र समयमा वीर अस्पताल पुगेर निःशुल्क सेवा लिन सकिनेछ।

उपलब्ध हुने स्वास्थ्य सेवाहरू

  • स्तन क्यान्सर: क्लिनिकल जाँच, आवश्यकताअनुसार अल्ट्रासाउन्ड र म्यामोग्राफी।

  • पाठेघरको मुखको क्यान्सर: एचपीभी डीएनए पीसीआर परीक्षण। रिपोर्ट पोजेटिभ आएमा कल्पोस्कोपी र बायोप्सी समेत निःशुल्क गरिने व्यवस्था मिलाइएको छ।

यो सहकार्यले काठमाडौँ महानगरभित्रका महिलाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र क्यान्सरको समयमै उपचार सुनिश्चित हुने विश्वास लिइएको छ।