इरानद्वारा ‘स्ट्रेट अफ होर्मुज’बाट पानीजहाज नियन्त्रणमा, एक नेपाली पनि कब्जामा

काठमाडौं, ६ चैत । मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलडमरु) बाट नियन्त्रणमा लिएको एक पानीजहाजमा एक नेपाली नागरिक पनि परेका छन्। परराष्ट्र मन्त्रालयले मङ्गलबार घटनाको औपचारिक पुष्टि गर्दै इरानी सुरक्षा बलको कब्जामा एक नेपाली रहेको जनाएको छ।

इरानको नियन्त्रणमा पर्ने नेपाली नागरिकको नाम अमृत झा रहेको मन्त्रालयले जनाएको छ। उनी उक्त पानीजहाजमा चालक दलका सदस्य (क्रु मेम्बर) का रूपमा कार्यरत थिए। जलमार्गमा यात्रा गरिरहेको जहाजलाई इरानले नियन्त्रणमा लिएपछि त्यसमा सवार सम्पूर्ण चालक दलका सदस्यहरूलाई बन्धक बनाएको थियो, जसमा झा पनि परेका हुन्।

परराष्ट्र मन्त्रालयद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले घटनाको पुष्टि गरेका हुन्। “होर्मुज क्षेत्रमा पानीजहाजमा काम गर्ने क्रममा इरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको छ, त्यही क्रममा हाम्रा एक नागरिक पनि पर्नुभएको छ,” खड्काले भने।

महाशाखा प्रमुख खड्काका अनुसार, जहाज नियन्त्रणमा परेको र झा सम्पर्कविहीन भएको जानकारी सुरुमा उनका आफन्तहरूले परराष्ट्र मन्त्रालयलाई गराएका थिए। परिवारको सूचनापछि मन्त्रालयले यस विषयमा चासो राख्दै कूटनीतिक च्यानलमार्फत जानकारी लिएको थियो।

पछिल्लो समय इजरायल–अमेरिका र इरानबीचको द्वन्द्व चर्किएसँगै विश्वको प्रमुख तेल मार्ग मानिने ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा सुरक्षा जोखिम उच्च बनेको छ। परराष्ट्र मन्त्रालयले इरानको कब्जामा रहेका झाको अवस्था बुझ्न र उनको सकुशल उद्धारका लागि कूटनीतिक पहल अगाडि बढाएको बुझिएको छ।