पाल्पामा चुनढुङ्गा खानीतर्फ जाँदै गरेको टिपर दुर्घटना: चालकसहित ४ जनाको मृत्यु
पाल्पा, ८ चैत । पाल्पाको माथागढी गाउँपालिकामा शनिबार साँझ भएको टिपर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। झडेवाबाट रहबासस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गरेको टिपर अनियन्त्रित भई सडकबाट खस्दा ठूलो मानवीय क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा लु २ ख ४५२५ नम्बरको खाली टिपर शनिबार साँझ ६:०० बजेतिर दुर्घटनामा परेको थियो। गुडिरहेको टिपर अचानक सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:
१. चिन्ताबहादुर सुनार (२६ वर्ष, चालक) – सितगङ्गा–४, अर्घाखाँची।
२. सुनील विक (२६ वर्ष) – सितगङ्गा–४, अर्घाखाँची।
३. सुनील नेपाली (२६ वर्ष) – देवदह–२ खैरेनी, रूपन्देही।
४. राजन चिदी (३३ वर्ष) – तानसेन–१० पटुवा, पाल्पा।
दुर्घटनामा परेकामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका राजन चिदीको रूपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको डिएसपी चौधरीले जानकारी दिनुभयो।
तीव्र गति वा साँघुरो कच्ची सडकका कारण टिपर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।