सुनको भाउ तोलामा २५ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं, १६ चैत । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला २ हजार ५ सय रुपैयाँले ओरालो लागेको हो।

मूल्य घटेसँगै आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (आइतबार) सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।

सोमबार सुनको भाउ घटे पनि समग्रमा पछिल्लो एक साताको अवधिमा भने सुन तोलामा ८ हजार रुपैयाँले महँगिएको छ। गत साताको सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ रहेको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ४ हजार ७ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।