नेप्सेमा ४ अङ्कको सामान्य गिरावट, कारोबार रकम बढेर ४ अर्ब ३४ करोड

काठमाडौँ, २९ जेठ । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन शुक्रबार सामान्य अङ्कले घटेर बन्द भएको छ। अघिल्लो दिन घटेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिँदै ४ अङ्कले घटेर २,७२४.०३ विन्दुमा झरेको छ। परिसूचक घटे पनि यस दिन कारोबार रकममा भने वृद्धि भएको छ।

यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ०.५३ अङ्क, फ्लोट इण्डेक्स ०.३० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अङ्कले घटेका छन्। बिहीबार ३ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा शुक्रबार ३४२ कम्पनीका ५४ हजार १७७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँ बराबरको ९८ लाख ५६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन दुईवटा कम्पनी सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब साढे १३ प्रतिशतले बढेको छ। अर्कातर्फ, कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य यस दिन सबैभन्दा बढी १०.६६ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै, सिटी होटलको करिब २५ करोड रुपैयाँ र आँखु खोला जलविद्युत् कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।