गृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक नहुने, प्रवक्ता पोखरेलद्वारा बचाउ

काठमाडौँ, २९ जेठ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिनको प्रतिवेदन तत्काल सार्वजनिक नगरिने स्पष्ट पार्नुभएको छ। मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले आवश्यक परेको खण्डमा मात्र सरकारले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय लिने बताउनुभयो।

छानबिन समितिले प्रतिवेदन बुझाएलगत्तै मन्त्री गुरुङ गृह मन्त्रालयको नियमित कार्यमा फर्किसक्नुभएको छ। तर, विपक्षी दलका नेताहरूले सरकारले छानबिन प्रतिवेदन गोप्य राखेर गृहमन्त्रीलाई चोख्याउने प्रपञ्च गरेको आरोप लगाउँदै उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न संसद्बाट दबाब दिइरहेका छन्। शुक्रबार संसद् बैठकमा पनि विपक्षी सांसदहरूले यो विषय जोडतोडका साथ उठाएका थिए।

विपक्षीको आरोपको प्रतिवाद गर्दै प्रवक्ता पोखरेलले भन्नुभयो, “यदि गृहमन्त्रीलाई चोख्याउने मात्रै नियत हुन्थ्यो भने सरकारले छानबिन समिति नै गठन गर्ने थिएन। प्रतिवेदन सार्वजनिक गर्ने कुनै निर्णय भएको छैन। भविष्यमा आवश्यकता अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।”