म्याग्दीको सबैभन्दा विकट गाउँ गुर्जामा पुग्यो सडक, जिल्लाका सबै ४५ वटै वडा जाेडिए सडक सञ्जालमा
म्याग्दी, २० चैत्र । भौगोलिक रूपमा म्याग्दीको सबैभन्दा विकट मानिने धवलागिरि गाउँपालिका–१, गुर्जा अन्ततः सडक सञ्जालमा जोडिएको छ। गुर्जामा गाडी पुगेसँगै म्याग्दीका ६ वटै स्थानीय तहका ४५ वटै वडा सडक सञ्जालको पहुँचमा पुगेका छन्।
धवलागिरि गाउँपालिकाको गौरवको आयोजना ‘लुलाङ–गुर्जा सडक’ खण्डअन्तर्गत ट्र्याक खोल्ने क्रममा बिहीबार पहिलोपटक गुर्जाको कानबराह नजिकै ‘बिएए ७८४६’ नम्बरको जिप पुगेको हो। सडक खन्ने डोजरसँगै गाउँको नजिकै गाडी पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ।
गुर्जाका वडाध्यक्ष झक छन्त्यालका अनुसार अब गाउँको मुख्य बस्तीसम्म पुग्न करिब एक किलोमिटर मात्र ट्र्याक खोल्न बाँकी छ, जुन आगामी एक साताभित्र सम्पन्न गर्ने लक्ष्य छ। अहिले गाडी पुगेको स्थानबाट गुर्जा गाउँ पुग्न जम्मा ५ मिनेट मात्र पैदल हिँड्नुपर्छ। गत फागुनमा पाल्टन भन्ने स्थानमा डोजर बिग्रिएर एक महिना रोकिएको काम केही दिनअघि मात्र पुनः सुचारु भएको थियो।
“विगत तीन वर्षमा संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर मार्ग खुलेको थियो,” वडाध्यक्ष छन्त्यालले भन्नुभयो, “चालु आर्थिक वर्षमा थप चार किलोमिटर ट्र्याक निर्माण अन्तिम चरणमा पुगेसँगै गुर्जा यातायात सञ्जालमा जोडिएको हो।”
यस वर्ष गाउँपालिकाले विनियोजन गरेको एक करोड ७० लाख रुपैयाँ बजेटमध्ये लुलु कन्ट्रक्सनले ८८ लाख ८५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम गरिरहेको छ।
सडक सञ्जालमा जोडिएसँगै गुर्जावासीको वर्षौंदेखिको सास्ती अन्त्य भएको छ। दुई वर्षअघिसम्म गुर्जाबाट लुलाङ वा गाउँपालिकाको केन्द्र मुना पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्थ्यो।
स्थानीय गोर्खा छन्त्यालका अनुसार अब गाडी चल्न थालेपछि गुर्जाबाट साढे दुई घण्टामा पालिका केन्द्र मुना, पाँच घण्टामा सदरमुकाम बेनी र सात घण्टामा पोखरा पुग्न सकिने भएको छ। सडक पहुँचले बिरामीलाई समयमै अस्पताल लैजान, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानी गर्न, र स्थानीय कृषि तथा जडीबुटीको बजारीकरण गर्न निकै सहज भएको छ। साथै, गाउँमा पर्यटकको चहलपहलसमेत बढ्न थालेको छ।
म्याग्दी क्षेत्र नं १ (क) का गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले तीनै तहका सरकार र समुदायको सहकार्यले विकट गुर्जामा सडक पुर्याउने सपना साकार भएको बताउनुभयो। त्यस्तै, धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले यो सडक आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको पालिकाको उच्च प्राथमिकता प्राप्त योजना रहेको जानकारी दिनुभयो।
भर्खरै खुलेको सडकको ग्रेड र घुम्ती मिलाउन, साँघुरो ठाउँमा फराकिलो पार्न र पक्की नाला बनाउन चालु आर्थिक वर्षमा संघीय सरकारको सहरी विकास मन्त्रालयबाट ३ करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ विनियोजन भएको छ।
गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ बजेट कार्यान्वयनका लागि ठेक्का आह्वान भइसकेको छ। यसैगरी, गुर्जा जोड्ने सडक खण्डअन्तर्गत लमसुङस्थित दरखोलामा प्रदेश सरकारकै लगानीमा २५ मिटर लामो पक्की मोटरेबल पुलको निर्माण कार्य पनि भइरहेको छ।
एउटै वडा र एउटै बस्ती रहेको गुर्जामा विशेषगरी अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास छ। यहाँ २६५ घरधुरीमा करिब १ हजार ५०५ जनाको बसोबास रहेको छ। सडक पुगेसँगै यो सुन्दर तर विकट बस्ती विकासको नयाँ युगमा प्रवेश गरेको छ।