आइतबार पनि ओपिडी चलाउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन: कर्मचारीलाई सट्टा बिदा

काठमाडौं । सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरे तापनि अस्पतालहरूको सेवा प्रवाह भने नरोकिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा सुचारु राख्न सम्बद्ध सबै निकायलाई निर्देशन दिएको छ ।

दुई दिने बिदाका कारण बिरामीहरू मर्कामा नपरून् र स्वास्थ्य सेवा निरन्तर तथा प्रभावकारी होस् भन्ने उद्देश्यले मन्त्रालयले यस्तो वैकल्पिक प्रबन्ध मिलाएको हो । मन्त्रालयले सम्पूर्ण अस्पतालहरूलाई आफ्नो कार्यबोझ र उपलब्ध जनशक्तिको अवस्थालाई मध्यनजर गर्दै आइतबार पनि नियमित रूपमा ओपिडी सेवा सञ्चालन गर्न परिपत्र गरेको छ ।

मन्त्रालयको निर्देशनअनुसार, आइतबार काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको बिदा भने कटौती हुनेछैन । आइतबार सेवा प्रवाहमा खटिने कर्मचारीलाई शनिबारबाहेक हप्ताको अर्को कुनै एक दिन बिदा दिने व्यवस्था मिलाउन अस्पताल प्रशासनलाई निर्देशन दिइएको छ ।

यदि जनशक्ति अभाव वा अन्य कारणले नियमित बिदा दिन नसकिने अवस्था आएमा त्यस्ता कर्मचारीलाई ‘सट्टा बिदा’ दिएर भए पनि स्वास्थ्य सेवा प्रवाहलाई निरन्तरता दिन मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले यो व्यवस्था सङ्घीय अस्पतालहरूमा मात्र नभई प्रादेशिक अस्पतालहरूमा पनि लागू गर्न अनुरोध गरेको छ । यसका लागि सातवटै प्रदेशका स्वास्थ्य मन्त्रालय र सम्बद्ध निकायहरूलाई पत्राचार गर्दै सोहीअनुसारको व्यवस्था मिलाउन सङ्घीय स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।