इन्द्रजात्रा व्यवस्थापनका लागि काठमाडौँ महानगरको तयारी बैठक: २५ वर्षपछि स्थानीयले मुआली बाजा बजाउने

काठमाडौँ ।  उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व येँया (इन्द्रजात्रा) लाई भव्य, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सरोकारवाला निकाय तथा गुठियारहरूबिच तयारी बैठक सम्पन्न भएको छ।

बैठकका अवसरमा कार्यवाहक प्रमुख डंगोलले इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यलाई गत वर्ष (२०८२) को जात्रा व्यवस्थापनमा भएको खर्चबापत रु. २८ लाख ७१ हजारको चेक हस्तान्तरण गर्नुभयो।

जात्राका मुख्य नयाँ योजना तथा निर्णयहरू

  • मुआली बाजाको पुनःस्थापना: विगत २५ वर्षदेखि स्थानीयबाट बजाउन छाडिएको परम्परागत मुआली बाजा यस वर्षदेखि काठमाडौँका स्थानीयले नै बजाउने गरी प्रशिक्षण सञ्चालन भइरहेको छ।

  • पूर्वाधार र भौतिक सुधार: जात्रा सुरु हुनुअघि नै कुमारी घरको छाना जीर्णोद्धार गरिसक्न निर्देशन दिइएको छ। साथै, श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि यसै वर्ष शिलान्यास गरी आगामी वर्ष एउटै परिसरबाट रथयात्रा सुरु गर्ने तयारी छ।

  • स्वास्थ्य, सुरक्षा र स्वयंसेवा: जात्रा अवधिभर आकस्मिक स्वास्थ्य उपचारका लागि एम्बुलेन्स परिचालन, महानगर स्काउटलाई नेतृत्वदायी भूमिका, र स्वयंसेवकहरूका लागि खाजा तथा पानीको प्रबन्ध गरिनेछ।

  • सवारी तथा पार्किङ व्यवस्थापन: भित्री सहरी क्षेत्रमा सवारी प्रवेश निषेध तथा पार्किङ क्षेत्र तोक्न महानगर प्रहरी, नेपाल प्रहरी र उपत्यका ट्राफिक प्रहरीबिच समन्वय गरिनेछ।

 

यस वर्षको इन्द्रजात्रा तालिका र मुख्य साइतहरू

  • असोज ३ गते (शनिबार): भोटाहिटीमा राखिएको यँसि (लिङ्गो) लाई बिहान ५:०५ बजेको साइतमा हनुमानढोकातर्फ ‘नगर प्रवेश’ गराइनेछ।

  • असोज ७ गते (बुधबार): बिहान ७:४७ बजेको शुभसाइतमा हनुमानढोका परिसरमा यँसि उठाउने (इन्द्रध्वजोत्थान) गरिनेछ।

  • असोज ९ गते (शुक्रबार) – पहिलो दिन: श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा (तल्लो टोलतर्फ) सुरु हुनेछ। सोही साँझ राष्ट्रपतुलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ भने राति ‘दागी’ परिक्रमा गराइनेछ।

  • असोज १० गते (शनिबार) – दोस्रो दिन: माथिल्लो टोलमा रथयात्रा हुनेछ।

  • असोज १३ गते (मङ्गलबार) – नानीचाया: विगत १४ वर्षको परम्परालाई निरन्तरता दिँदै महिला दिदीबहिनीहरूको नेतृत्वमा नानीचाया रथयात्रा सञ्चालन हुनेछ। यस दिन राष्ट्रपतिबाट कुमारीको बाहुलीबाट टीका ग्रहण गर्ने परम्परा छ।

परम्परागत नाच र आकर्षण

जात्रा अवधिभर लाखे आजु, पुलुकिसी, हलचोक आकाश भैरव, देवी नाच, महाकाली नाच र दश अवतार प्रदर्शन गरिनेछ। साथै, हनुमानढोकास्थित श्वेत भैरवको मुखबाट जाँड (श्रीको प्रसाद) खुवाउने परम्पराले पनि निरन्तरता पाउनेछ।

बैठकमा गुठी संस्थान, हनुमानढोका हेरचाह अड्डा, ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, र स्थानीय गुठियार तथा आयोजक समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *