वैशाखका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक : निक्षेपको ब्याजदर अझै घट्यो, सबैभन्दा धेरै एनएमबीको ५ प्रतिशत
काठमाडौं, ३० चैत्र । बैंकहरूमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएको र कर्जा प्रवाह सुस्त बनेको अवस्थामा वाणिज्य बैंकहरूले नयाँ वर्ष (वैशाख) का लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् ।
सोमबार बैंकहरूले सार्वजनिक गरेको वैशाख महिनाको नयाँ ब्याजदर सूचीअनुसार, व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर चैतको तुलनामा ०.०९४ प्रतिशत बिन्दुले घटेको छ । चैतमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.४९४ प्रतिशत रहेकोमा वैशाखका लागि उक्त दर घटेर ४.४०० प्रतिशतमा झरेको छ ।
२० वटा वाणिज्य बैंकमध्ये वैशाखका लागि ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १३ वटा बैंकले चैतकै ब्याजदरलाई निरन्तरता (स्थिर) दिएका छन् ।
कुन बैंकले घटाए, कसले स्थिर राखे ?
चैतको तुलनामा वैशाखमा ब्याजदर घटाउने बैंकहरूमा एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन् ।
त्यस्तै, कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल बैंक, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।
धेरै ब्याज दिनेमा एनएमबी, अन्यको ५ प्रतिशतभन्दा तल
वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सर्वाधिक ब्याज दिनेमा एनएमबी बैंक अगाडि छ । एनएमबीले अधिकतम ५ प्रतिशत ब्याजदर तय गरेको छ, तर यो ब्याज पाउनका लागि ५ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेप राख्नुपर्नेछ । अन्य १९ वटै वाणिज्य बैंकहरूको अधिकतम ब्याजदर भने ५ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूले छोटो अवधिको मुद्दतीमा न्यून र लामो अवधिको मुद्दतीमा मात्र अधिकतम ब्याज दिँदै आएका छन् ।
कर्जाको ब्याजदर पनि सस्तिने
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत र संस्थागत मुद्दतीको ब्याजदरसमेत घट्न जान्छ । निक्षेपको ब्याजदर सस्तिएपछि बैंकहरूको समग्र लागत (आधार दर अर्थात् बेस रेट) कम हुन गई कर्जाको ब्याजदर पनि स्वतः सस्तो हुनेछ । यसले ऋण लिएर व्यवसाय गर्न चाहनेहरूलाई राहत मिल्नेछ ।
हाल बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि बजारमा माग नहुँदा कर्जा प्रवाह सुस्त छ । यसैकारण नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न र अन्तरबैंक ब्याजदर सन्तुलनमा राख्न बोन्ड तथा स्थायी निक्षेप सुविधामार्फत बैंकहरूबाट पैसा खिचिरहेको छ ।
यस्तो छ वैशाखका लागि २० वाणिज्य बैंकको अधिकतम ब्याजदर :
* एनएमबी : ५.००%
* एनआईसी एसिया : ४.७५%
* राष्ट्रिय वाणिज्य : ४.७५%
* नबिल : ४.५५%
* प्रभु : ४.५५%
* ग्लोबल आईएमई : ४.५०%
* हिमालयन : ४.५०%
* इन्भेस्टमेन्ट मेगा : ४.५०%
* लक्ष्मी सनराइज : ४.५०%
* माछापुच्छ्रे : ४.५०%
* सानिमा : ४.५०%
* नेपाल बैंक : ४.२५%
* नेपाल एसबीआई : ४.२५%
* कृषि विकास : ४.१५%
* सिटिजन्स : ४.१५%
* प्राइम कमर्सियल : ४.१५%
* स्ट्यान्डर्ड चार्टर्ड : ४.१०%
* एभरेस्ट : ४.०५%
* कुमारी : ४.०५%
* सिद्धार्थ : ४.००%