त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं, ३० चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको उडानमार्फत शुक्रबार (आज) काठमाडौं आएका ती भारतीय नागरिकलाई विमानस्थलको भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो ।

विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शङ्कास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट करिब दुई किलो गाँजा बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता (डीआईजी) विष्णुप्रसाद भट्टराईका अनुसार, बरामद गरिएको गाँजासहित पक्राउ परेका ती भारतीय नागरिकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको छ । प्रहरीले उनीमाथि लागुऔषध ओसारपसार कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको छ ।