सिरहाका सार्वजनिक सवारीमा सिसीटिभी जडान अनिवार्य : २० दिनभित्र कार्यान्वयन गर्न प्रशासनको निर्देशन
काठमाडौँ, बैशाख ४ । सिरहा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई सुदृढ बनाउन अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो ।
जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायतका क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारीसाधनमा यो नियम लागू हुनेछ । सार्वजनिक यातायातमा हुन सक्ने चोरी, दुव्र्यवहार तथा अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गरी यात्रुहरूलाई सुरक्षित र भयरहित यात्राको अनुभूति गराउन यो कदम चालिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको समयसीमाभित्र सिसीटिभी जडान भए–नभएको बारे यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित रूपमा प्रभावकारी अनुगमन गर्नेछन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी गरिएको सूचनामा प्रशासनको निर्देशन पालना नगर्ने सवारीसाधनलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने व्यहोरा उल्लेख गरिएको छ ।