काठमाडौँको वायु प्रदूषण ‘निकै अस्वस्थ’ तहमा, नेपाल विश्वकै दोस्रो प्रदूषित देश

काठमाडौँ, १० वैशाख । काठमाडौँ उपत्यकाको वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ। उपत्यकाको आकाशमा बाक्लो तुवाँलो लाग्दा वायुको गुणस्तरले ‘निकै अस्वस्थ’ तह पार गरेको हो।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्यान्डको संस्था ‘आईक्यू एयर’का अनुसार, आज बिहान काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २४७ सम्म पुगेको थियो। यद्यपि, पछि उक्त सूचकाङ्क सामान्य घटेर २१६ मा झरेको छ। एक्यूआई २०१ देखि ३०० सम्म पुग्नुलाई स्वास्थ्यका दृष्टिकोणले ‘निकै अस्वस्थ’ मानिन्छ।

बढ्दो प्रदूषणसँगै नेपाल अहिले विश्वकै प्रदूषित देशहरूको सूचीमा दोस्रो स्थानमा पुगेको छ। यस सूचीको पहिलो स्थानमा भने पाकिस्तान रहेको छ।

नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकाङ्कअनुसार एक्यूआई ० देखि ५० सम्म हुँदा ‘राम्रो’, ५१ देखि १०० सम्म हुँदा ‘मध्यम’ र १०१ देखि १५० सम्म हुँदा ‘संवेदनशील समूहका लागि अस्वस्थ’ मानिन्छ। त्यसैगरी, १५१ देखि २०० सम्मलाई ‘अस्वस्थ’, २०१ देखि ३०० सम्मलाई ‘निकै अस्वस्थ’ र ३०१ भन्दा माथि पुगेमा प्रदूषण ‘खतरनाक’ तहमा पुगेको मानिन्छ। वायु प्रदूषण उच्च हुँदा श्वासप्रश्वासका बिरामी, बालबालिका र वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।