२६५०औँ बुद्ध जयन्तीः स्वयम्भू र बौद्धनाथलगायतका गुम्बामा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
काठमाडौँ, १८ वैशाख । २६५० औँ बुद्ध जयन्तीका अवसरमा काठमाडौँ उपत्यकाका प्रमुख बौद्ध तीर्थस्थलहरू स्वयम्भू, बौद्धनाथलगायतका गुम्बा तथा विहारहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
बौद्ध क्षेत्रहरूमा आज विशेष पूजा–आराधना, शान्तिपाठ, प्रवचन र दीप प्रज्वलनलगायतका कार्यक्रम भइरहेका छन्। स्वयम्भूस्थित आनन्दकुटी विहारमा भगवान् बुद्धको ‘अस्तु धातु’ सर्वसाधारणको दर्शनका लागि सार्वजनिक रूपमा राखिएकाले त्यहाँ दर्शनार्थीको लामो लाइन लागेको छ।
त्यसैगरी, उपत्यकाका विभिन्न गुम्बा तथा विहारहरूमा भिक्षु तथा भिक्षुणीहरूद्वारा शान्तिपाठ र ध्यान साधनाका साथै परिक्रमा कार्यक्रम सञ्चालन भइरहेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बिहानैदेखि पुगेका भक्तजनहरूले शान्ति र समृद्धिको कामना गर्दै दीप प्रज्वलन गरिरहेका छन्।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको दिन
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीलाई सिद्धार्थ गौतमको जन्म, बुद्धत्व (ज्ञान) प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको पवित्र दिनका रूपमा स्मरण गरिन्छ।
