मोदी गाउँपालिकामा ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र सञ्चालन : असार मसान्तसम्म निःशुल्क भण्डारणको सुविधा
काठमाडौँ, वैशाख २० । पर्वतको मोदी गाउँपालिकामा जिल्लामै पहिलो पटक चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा वडा नं. ६ तिलाहारस्थित पहरेमा निर्माण गरिएको उक्त केन्द्र आइतबारदेखि विधिवत् रूपमा सञ्चालनमा आएको हो ।
करिब एक वर्षको यान्त्रिक परीक्षणपछि सञ्चालनमा आएको यस केन्द्रमा स्थानीय कृषकहरूले आफ्ना कृषि उपजहरू भण्डारण गर्न थालेका छन् । ३० मेट्रिक टन क्षमता रहेको यो चिस्यान केन्द्र उपभोक्ता समितिमार्फत ३३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।
असारसम्म निःशुल्क भण्डारण
चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कृषकहरूलाई प्रोत्साहनस्वरूप निःशुल्क भण्डारणको व्यवस्था मिलाइएको छ । मोदी-६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेका अनुसार गाउँपालिकाभित्रका कृषकलाई पहिलो प्राथमिकता दिइनेछ भने स्थान अभाव नभएमा अन्य क्षेत्रका कृषकले समेत यो सुविधा उपभोग गर्न पाउनेछन् ।
भण्डारणका लागि मापदण्ड
केन्द्रमा कृषि उपज राख्नका लागि केही प्राविधिक मापदण्डहरू तोकिएका छन् । व्यक्तिगत किसानले निवेदन र नागरिकताको प्रतिलिपि तथा समूहले दर्ता प्रमाणपत्र र निर्णय पेस गर्नुपर्छ । भण्डारण गरिने उपज राम्रोसँग सुकाइएको, रोगकिरा नलागेको र नसडेको हुनुपर्छ । प्लास्टिकका बोरा प्रयोग गर्न पूर्ण निषेध गरिएको छ; आलु र अन्य उपजका लागि जालीदार वा जुटको बोरा अनिवार्य गरिएको छ।
कृषकलाई फाइदा
गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले चिस्यान केन्द्रको सञ्चालनले कृषकहरूलाई बेमौसममा कृषि उपज बिक्री गर्न र गुणस्तरीय बीउ भण्डारण गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो । यसअघि कृषि उपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता रहेकोमा अब गाउँमै केन्द्र सञ्चालन भएपछि सो समस्या हटेको छ ।
जिल्लाका अन्य क्षेत्रमा पनि तयारी
मोदी गाउँपालिकासँगै पर्वतका अन्य पालिकामा पनि चिस्यान केन्द्र सञ्चालनको तयारी भइरहेको छ। जलजला गाउँपालिकाले खनियाँघाटमा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेको केन्द्र अहिले परीक्षणको क्रममा छ । त्यस्तै, दक्षिण पर्वतको पैँयु गाउँपालिकाले पनि उपभोक्ता समिति वा कृषि समूहमार्फत केन्द्र सञ्चालन गर्न प्रक्रिया अगाडि बढाउँदै सूचना प्रकाशित गरिसकेको छ ।
चिस्यान केन्द्रहरूको विस्तारसँगै पर्वतमा व्यावसायिक कृषि र उपजको उचित मूल्य सुनिश्चित हुने अपेक्षा गरिएको छ ।