वाग्मती प्रदेशमा आज तेस्रो प्रदेश भाषा दिवस मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा
काठमाडौँ, २४ वैशाख । वाग्मती प्रदेश सरकारले आज विभिन्न कार्यक्रम आयोजना गरी ‘तेस्रो प्रदेश भाषा दिवस’ मनाउँदैछ। नेपालको संविधानअनुसार बहुभाषिक नीतिलाई कार्यान्वयन गर्दै प्रदेशले सरकारी कामकाजको भाषाका रूपमा नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषा (नेवारी) लाई लागू गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो।
वाग्मती प्रदेश सरकारले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ बमोजिम विसं २०८१ देखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसका रूपमा मनाउन सुरु गरेको थियो। उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो। ऐनको व्यवस्थाअनुसार राजपत्रमा प्रकाशित भएको १८० दिनपछि अर्थात् २०८१ वैशाख २४ गतेदेखि यो ऐन पूर्ण रूपमा कार्यान्वयनमा आएको थियो।
प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीका अनुसार ऐन कार्यान्वयनको सोही ऐतिहासिक दिनलाई आधार मानेर हरेक वर्ष वैशाख २४ मा भाषा दिवस मनाउने निर्णय गरिएको हो।
दिवसको अवसरमा आज काठमाडौँ र भक्तपुरमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ। पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवनकुमार पोखरेलका अनुसार आज बिहान भक्तपुरको दूधपाटीबाट भव्य सांस्कृतिक ¥याली निकालिएको छ। ¥यालीले भक्तपुर दरबार क्षेत्र, दत्तात्रय र कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटी पुगेर मूल समारोहको रूप लिने तयारी गरिएको छ। र्यालीमा विभिन्न जातजाति र समुदायका मानिसहरू आ-आफ्नो मौलिक भेषभुषामा सहभागी भएका छन्।
तेस्रो प्रदेश भाषा दिवसको उपलक्ष्यमा वाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालय, शिक्षण संस्था र सार्वजनिक निकायहरूमा बिदा दिइएको मन्त्रालयले जनाएको छ।
नेपालको संघीय संरचनापछि प्रादेशिक पहिचान र भाषिक विविधताको संरक्षणका लागि वाग्मती प्रदेशले चालेको यो कदमलाई भाषाविद्हरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।