सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि : राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ,  वैशाख २७ । सङ्घीय संसद्को बजेट अधिवेशन आगामी सोमबारदेखि प्रारम्भ हुने भएको छ । सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति पौडेलले सोमबार अपराह्न ४:०० बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधानको धारा ९५ मा प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ  ।

संसद् सचिवालयले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई अपराह्न ३:४५ बजे अगावै उपस्थित हुन अनुरोध गरेको छ। संयुक्त बैठकअघि अपराह्न २:०० बजे दुवै सदनका छुट्टाछुट्टै बैठकहरू बस्नेछन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रहरू पढेर सुनाइने सम्भावित कार्यसूची छ । त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस हुने तथा नयाँ नियमावलीको मस्यौदा प्रस्तुत गरिने जनाइएको छ ।

बैठकमा सरकारले विभिन्न समयमा जारी गरेका आठवटा अध्यादेशहरू समेत पेस गरिनेछ। जसमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत रहेका छन् । यी अध्यादेशहरू राष्ट्रियसभाको बैठकमा पनि प्रस्तुत गरिने सचिवालयले जानकारी दिएको छ ।