राष्ट्रियसभा बैठकः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु

काठमाडौँ, ३इ बैशाख । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभामा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। आइतबार (३० वैशाख) बसेको राष्ट्रियसभा बैठकमा दलीय आधारमा उक्त नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिएको हो।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। अर्थमन्त्री वाग्लेले राष्ट्रपतिबाट गत वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई छलफलका लागि सभासमक्ष राखेका हुन्।

छलफल सुरु हुनुअघि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि प्राप्त संशोधन प्रस्तावहरूबारे सदनलाई जानकारी गराएका थिए। अध्यक्ष दाहालका अनुसार, सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि १९ जना सदस्यको हस्ताक्षर रहेको एक संयुक्त प्रस्तावसहित जम्मा आठवटा संशोधन प्रस्ताव दर्ता भएका छन्।

आगामी आर्थिक वर्षको बजेट ल्याउनुपूर्व सरकारले आफ्ना प्राथमिकता र योजनाहरू समेटेर नीति तथा कार्यक्रम संसद्‌मा पेस गर्ने र त्यसमाथि दुवै सदनमा विस्तृत छलफल हुने संवैधानिक तथा संसदीय अभ्यास रहेको छ।