भोजपुरको खावामा व्यावसायिक किवी खेती विस्तार : वडाको अनुदान र प्राविधिक सहयोगले किसान उत्साहित

काठमाडौँ, जेठ ४ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसानहरू व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन्। भौगोलिक अनुकूलता र दीर्घकालीन आम्दानीको राम्रो स्रोत हुने देखिएपछि स्थानीय किसानहरूले परम्परागत खेती छाडेर किवी खेतीलाई प्राथमिकता दिन थालेका हुन् ।

वडाको प्रोत्साहन र लगानी
किवीखेतीको उच्च सम्भावनालाई मध्यनजर गर्दै वडा कार्यालयले यसलाई विशेष प्राथमिकतामा राखेको छ। वडाध्यक्ष सुनिल राईका अनुसार हालसम्म १७० जना किसानलाई करिब २ हजार ५ सय  भन्दा बढी किवीका बिरुवा वितरण गरिसकिएको छ। “हाम्रो मुख्य उद्देश्य किसानलाई व्यावसायिक उत्पादनमार्फत आयआर्जनमा जोड्नु हो,” वडाध्यक्ष राईले भन्नुभयो, “बिरुवा वितरणसँगै हामीले किसानलाई आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएका छौँ ।”

किसानको अनुभव र आम्दानी
स्थानीय किसान भीमसेन राईले १० रोपनी जग्गामा १५० बोट किवी लगाएर व्यावसायिक खेती सुरु गर्नुभएको छ। उहाँका अनुसार एकपटक लगाएपछि सामान्य हेरचाहमै लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यो खेती लाभदायक छ। राईले एकै बोटबाट नौ हजार रुपैयाँसम्म आम्दानी लिएको अनुभव सुनाउनुभयो  ।

त्यसैगरी, अर्का किसान तेजन विष्टले पनि ५० बोटबाट खेती विस्तार गर्नुभएको छ। वडा कार्यालयबाट प्राप्त बिरुवा र प्राविधिक परामर्शले खेतीमा थप उत्साह थपेको बताउँदै उहाँले परम्परागत अन्न बालीको तुलनामा किवीबाट कयौँ गुणा बढी प्रतिफल लिन सकिने उल्लेख गर्नुभयो ।

पकेट क्षेत्रका रूपमा विकास हुँदै
हाल खावाको मझौले, रमिते तथा मुख्य वडा क्षेत्रमा किवीखेती व्यापक रूपमा विस्तार भइरहेको छ । वडाको सक्रियता र किसानको व्यावसायिक लगावले गर्दा यो क्षेत्र विस्तारै किवी उत्पादनको ‘हब’ (केन्द्र) का रूपमा विकास भइरहेको स्थानीयको भनाइ छ ।