दाङमा व्यावसायिक तरकारी खेतीबाट ४० जनालाई रोजगारी : वार्षिक दुई करोडको कारोबार

काठमाडौँ, जेठ ४ । दाङको घोराही उपमहानगरपालिका-२ निमुरियामा सञ्चालित एक व्यावसायिक कृषि फार्म स्थानीयका लागि रोजगारीको मुख्य स्रोत बनेको छ। स्थानीय युवा उद्यमी हरि जिसीले सञ्चालन गरेको ‘सुवर्ण कृषि फार्म’ ले ४० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आर्थिक आत्मनिर्भरताको बाटो देखाएको हो ।

स्थानीयमा उत्साह र आर्थिक आत्मनिर्भरता
फार्ममा कार्यरत मुना चौधरी गाउँघरमै काम पाउँदा निकै उत्साहित हुनुहुन्छ। “पहिले हिउँदको समयमा खाली बस्नुपथ्र्यो, तर अहिले आफ्नै गाउँमा काम र मासिक १४-१५ हजार रुपियाँ आम्दानी भइरहेको छ,” चौधरीले भन्नुभयो। यो कमाइले उहाँलाई छोराछोरीको पढाइ र घरखर्च चलाउन ठुलो मद्दत पुगेको छ ।

त्यसैगरी, अर्की कामदार देवा चौधरीले पनि कृषि फार्मको कमाइले आफ्नो जीविकोपार्जनमा सहजता थपेको बताउनुभयो । उहाँका अनुसार श्रीमान्को कमाइ बचत गर्न र आफ्नो कमाइले घर व्यवहार चलाउन सम्भव भएको छ । यस फार्ममा स्थानीय गृहिणी मात्र नभई कलेज पढ्ने विद्यार्थीहरू समेत ‘पढ्दै-कमाउँदै’ अवधारणा अनुसार सहभागी भइरहेका छन् ।

उद्यमीको सङ्घर्ष र सफलता
३७ वर्षीय उद्यमी हरि जिसीले सात वर्षअघि मात्र सात कट्ठा जग्गाबाट तरकारी खेती सुरु गर्नुभएको थियो। सानैदेखि कृषिमा रुचि राख्ने जिसीको मिहिनेतले अहिले फार्म १४ बिघामा फैलिएको छ। उहाँले एक बिघा आफ्नै र १३ बिघा जग्गा भाडामा लिएर व्यावसायिक उत्पादन गरिरहनुभएको छ।

फार्मको आर्थिक पक्ष पनि निकै सबल देखिएको छ। जिसीका अनुसार फार्मबाट वार्षिक झन्डै दुई करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। “हामीले कामदारको पारिश्रमिकमा मात्रै वार्षिक करिब एक करोड रुपैयाँ खर्च गर्दै आएका छौँ,” जिसीले जानकारी दिनुभयो ।

बजार र उत्पादन
फार्ममा मौसमी तथा बेमौसमी टमाटर, बोडी, काँक्रा, र काउली लगायतका तरकारीहरू उत्पादन गरिन्छ। उत्पादित तरकारी बिक्रीका लागि जिसीले घोराही बजारमा आफ्नै पसल समेत सञ्चालन गर्नुभएको छ। हाल फार्मबाटै काँक्रा प्रतिलिलो १७ रुपैयाँ र टमाटर २८ रुपैयाँमा बिक्री भइरहेको छ ।

निमुरियामा उत्पादित यी तरकारीहरू दाङ जिल्लाभित्र मात्र सीमित नभई बुटवल, कोहलपुर, नेपालगन्ज, धनगढी, पोखरा र काठमाडौँसम्म पुग्ने गरेका छन्। कृषि क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता र स्थानीयलाई रोजगारी दिने जिसीको यो प्रयासले जिल्लामै व्यावसायिक कृषिको नमुना पेस गरेको छ ।