मार्किचोक सबस्टेसनमा प्राविधिक खराबी : तीन जिल्लाको विद्युत् सेवा प्रभावित
काठमाडौँ, जेठ ७ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या उत्पन्न हुँदा तीन जिल्लाको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । २२०/१३२/३३ केभी क्षमताको उक्त सबस्टेसनमा रहेको १३२/३३ केभी, १२ एमभिए पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि आइतबार साँझदेखि विद्युत् सेवा रोकिएको हो ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक विद्युत प्रवाह (करेन्ट) भएपछि हिजो साँझ ५:३२ बजेदेखि लाइन काटिएको थियो । यसबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्लाभर र चितवनको मुग्लिन क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।
समस्या पहिचान र समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली हिजो नै कार्यक्षेत्रमा खटिएको थियो । टोलीले राति १२:४५ बजे विद्युत् पुनः सञ्चालनमा ल्याए पनि आज बिहान ६:४७ बजे पुनः सोही समस्या दोहोरिएपछि सुरक्षाका कारण ट्रान्सफर्मर बन्द गरिएको छ ।
तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपालीले दिएको जानकारी अनुसार अहिले प्राविधिक टोली मर्मत कार्यमा व्यस्त छ । “हामी वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयासमा छौँ,” उहाँले भन्नुभयो, “ट्रान्सफर्मर मर्मत हुन नसकेको खण्डमा नयाँ ट्रान्सफर्मर जडान गर्ने तयारी समेत गरिएको छ ।”
हाल पोखरा ग्रिडको विज्ञ टोली मार्किचोक सबस्टेसनमै रहेर समस्या समाधानका लागि निरन्तर प्रयास गरिरहेको प्राधिकरणले जनाएको छ । विद्युत् अवरुद्ध हुँदा ती क्षेत्रका हजारौँ उपभोक्ता तथा उद्योग व्यवसाय प्रभावित भएका छन् ।