जब बाढीले औषधि बगाउँछ ………….

काठमाडौँ, जेठ ७ । मध्याह्नको उखरमाउलो गर्मी । तातो हावाको झोक्काले शरीर डढुँला झैँ गर्छ ।

कैलालीको भजनी नगरपालिका–३ पकरियापुरमा एकातिर राजनीतिक कार्यक्रम चल्दैछ, जहाँ चर्का भाषण र तालीको गडगडाहट सुनिन्छ । तर, त्यहीँ नजिकैको चौरमा ४० वर्षीय मानबहादुर चौधरी भने अर्कै धुनमा हुनुहुन्छ । उहाँलाई न ती भाषणले छोएको छ, न तालीले ।

“भाषण सुन्न गएर के पाउनु? विपद् पर्दा भाषण गर्नेहरू जोगाउन आउँदैनन्, आफैँले आफ्नो सुरक्षा गर्नुपर्छ,” बाँसको टेका मिलाउँदै मानबहादुरले दार्शनिक शैलीमा भन्नुभयो। उहाँ पकरियापुरका ‘बडघर’ अर्थात् ६२६ घरधुरीका परम्परागत नेता हुनुहुन्छ । तर, आज उहाँको भूमिका परम्परागत मात्र छैन, उहाँ एउटा आधुनिक र संवेदनशील मिशनमा जुट्नुभएको छ ।

बाढी, औषधि र बाँच्ने आशा
भजनीका लागि बाढी नयाँ कुरा होइन । हरेक वर्ष कन्द्रा, मोहना र पथरैया नदीले यहाँको बस्तीलाई बगाउन खोज्छन् । तर, यसपालि बडघर मानबहादुर र उहाँको टोली केवल बाढीबाट मात्र होइन, बाढीका बेला ‘बिरामी’लाई कसरी बचाउने भन्ने अभ्यासमा छ ।

यो केवल बाढीबाट भाग्ने अभ्यास होइन, यो त ‘नसर्ने रोग’ (रक्तचाप, मधुमेह, मुटुको समस्या) भएका बिरामीहरूका लागि जीवनको मन्त्र हो। रेडक्रस र नगरपालिकाको सहयोगमा उहाँहरू ‘पेन–डी प्याकेज’ को अभ्यास गर्दै हुनुहुन्छ । बाढीका बेला औषधि छुट्यो भने के गर्ने? उच्च रक्तचापका बिरामीलाई कसरी सुरक्षित स्थानमा पुर्‍याउने? मानबहादुरको टोलीले आज यही सिकिरहेको छ ।

माइकिङमा थारू लवज र जीवनको सन्देश
मानबहादुर मात्र होइन, उहाँकी श्रीमती ब्रेफानी चौधरी पनि उस्तै व्यस्त हुनुहुन्छ। हातमा माइक बोकेर उहाँ आफ्नै मातृभाषामा समुदायलाई सुचित गर्दै हुनुहुन्छ। उहाँको सन्देशमा एउटा नयाँ कुरा थपिएको छ– “बाढी आउँदैछ, सुरक्षित ठाउँमा जाँदा आफ्ना नियमित औषधि र प्रेसर-सुगरको कार्ड बोक्न नबिर्सिनुहोला!”

नदीको बहाव बढ्नासाथ ब्रेफानीको आवाज बस्ती बस्तीमा गुञ्जन्छ। उहाँको आवाज सुन्नेबित्तिकै महिला स्वयंसेविका किरणा जैसी आफ्नो झोला बोकेर निस्कनुहुन्छ। झोलामा केवल प्राथमिक उपचारका सामान मात्र छैनन्, त्यहाँ त जीवन बचाउने मधुमेह र उच्च रक्तचापका औषधिहरू पनि छन् ।

किन चाहियो यो नयाँ अभ्यास
तथ्याङ्क डरलाग्दो छ। भजनी नगरपालिकाले गरेको परीक्षणमा १,१८० जनामध्ये २५५ जनामा उच्च रक्तचाप र ९५ जनामा मधुमेह भेटिएको छ। बाढी आएका बेला यी बिरामीहरूले औषधि खान पाएका हुँदैनन्, जसका कारण उनीहरूको अवस्था झन् जटिल बन्छ ।

नगरप्रमुख केवल चौधरी भन्नुहुन्छ, “विगतमा बाढीले घर र खेत बगाउँथ्यो, अब यसले नसर्ने रोगका कारण मानिसको ज्यान पनि लिन थालेको छ। त्यसैले हामीले यो नयाँ अभ्यास सुरु गरेका हौँ ।”

बडघर: परम्परादेखि आधुनिकतासम्म
थारू समुदायमा बडघरको शब्द नै कानुन हो। तर, आज पकरियापुरका बडघर मानबहादुरले यो संस्थालाई एउटा नयाँ उचाइ दिनुभएको छ। उहाँ केवल झैझगडा मिलाउने वा भोजभतेर व्यवस्थापन गर्ने नेता मात्र रहनुभएन, उहाँ त आफ्ना ६२६ परिवारको ‘स्वास्थ्य र सुरक्षा’का पहरेदार बन्नुभएको छ।

“बडघर आफैँ खट्नु विश्वसनीय हुन्छ,” मानबहादुर भन्नुहुन्छ । उहाँको पसिनाले भिजेको निधारमा एउटा दृढ विश्वास देखिन्छ – यो वर्ष बाढी त आउला, तर औषधिको अभावमा कसैले ज्यान गुमाउनु पर्ने छैन ।

भजनीको यो सिकाई अब नेपालका अन्य बाढीग्रस्त क्षेत्रका लागि पनि एउटा नमुना बन्दैछ। जहाँ परम्परा, प्रविधि र मानवीय संवेदना मिलेर एउटा सुरक्षित भविष्यको जग हालिँदैछ ।