राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशी प्रदेशका साना तथा मझौला उद्यमीका लागि विशेष कर्जा योजना सुरु

काठमाडौँ, जेठ ७ । साना तथा मझौला उद्यममा लगानी अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच भएको सम्झौताबमोजिम ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयनमा आएको छ ।

कोशी प्रदेशमा साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्न विकास र सहयोगका लागि स्वीस एजेन्सी र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा सञ्चालित ‘उदय परियोजना’अन्तर्गत यो योजना सुरु गरिएको हो । बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार, यस योजनाले कोशी प्रदेशमा प्रवाहित हुने कर्जाको सुरक्षा सुनिश्चित गर्नेछ ।

कर्जाको सीमा र क्षेत्र
यस योजनाअन्तर्गत साना तथा मझौलास्तरका कृषि, उद्योग र सेवा क्षेत्रका व्यवसायहरूलाई न्यूनतम ३० लाखदेखि अधिकतम ३ करोड रुपियाँसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यसले कोशी प्रदेशका उद्यमीहरूलाई पुँजी अभाव हुन नदिन र व्यवसाय विस्तारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

पूर्ण सरकारी स्वामित्वमा वि.सं. २०२२ माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातवटै प्रदेशका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यो नयाँ योजनाले विशेषगरी कोशी प्रदेशको आर्थिक गतिविधि र उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।