किर्तिपुरमा नेपालको ब्याटिङ धमाका, अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य
काठमाडौँ, ८ जेठ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई जितका लागि ३१८ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार पारेको हो।
नेपालका लागि युवा ब्याट्सम्यान इशान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट पारी खेले। जारी शृङ्खलाबाटै ओडिआईमा डेब्यु गरेका इशानले मात्र ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यो उनको करियरको दोस्रो अर्धशतक हो।
मध्यक्रममा सम्हालिएर खेलेका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै ५९ बलमा ५९ रन जोडेर अविजित रहे। उनले आफ्नो पारीमा ४ चौका र ४ छक्का प्रहार गरे।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। आसिफले ५७ बलमा ४३ रन बनाए भने कुशलले ३९ बलमा २९ रनको योगदान दिए। यस्तै, कप्तान रोहित पौडेलले ५९ बलमा ४६ रनको महत्त्वपूर्ण पारी खेले। अन्य ब्याट्सम्यानहरूमा आरिफ शेख १८ रनमा अविजित रहे भने गुल्सन झाले १५ रन जोडे।
बलिङतर्फ अमेरिकाका शुभम रञ्जणेले ३ विकेट लिए। यस्तै, रुशिल उगारकर र मिलिन्ड कुमारले समान १–१ विकेट हात पारे। जारी शृङ्खलाअघि सातौँ स्थानमा रहेको नेपाल उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले यसअघि पनि अमेरिकालाई ९ विकेटले पराजित गरिसकेको छ। स्कटल्यान्डविरुद्धको जित र क्यानडा तथा नामिबियालाई पछि पार्दै नेपालले आफ्नो स्थिति बलियो बनाएको हो।
विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावना जीवित राख्न र एकदिवसीय (ओडिआई) मान्यता जोगाउन नेपालले अब बाँकी रहेका सबै खेलहरू जित्नुपर्ने दबाब छ।