नेप्सेमा १६ अङ्कको सुधार, साढे ४ अर्बको कारोबार हुँदा जलविद्युत् क्षेत्रमा आकर्षण

काठमाडौँ, ८ जेठ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक १६.३८ अङ्कले उकालो लागेर २ हजार ७ सय ५८ दशमलव ४९ को विन्दुमा पुगेको हो।

ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.४० अङ्कले बढेर ४७१.८९ मा कायम भएको छ। आज बजारमा कारोबार रकमले पनि राम्रो साथ दिएको छ। कुल ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँमा खरिद–बिक्री भएको छ।

बजारमा आज २ सय ३ कम्पनीको शेयर मूल्य बढ्दा ५७ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
आजको बजारमा जलविद्युत् कम्पनीहरूतर्फ लगानीकर्ताको विशेष आकर्षण देखिएको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। यस्तै रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपि पावर र बुङ्गल हाइड्रो बढी कारोबार हुने शीर्ष पाँच कम्पनीभित्र पर्न सफल भए।

आजको कारोबारबाट क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स, माबिलुङ हाइड्रोपावर, बुङ्गल हाइड्रो, आँखुखोला जलविद्युत् र सेपुर खुदी हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्।

यता गुमाउनेतर्फ भने एनआइसी एशिया ब्यालेन्स फण्ड, ग्लोबल आईएमई समुन्नत योजना दोस्रो, एबिएल डिबेञ्चर–२०९१, सानिमा बैंक डिबेञ्चर र स्वाभिमान लघुवित्तका लगानीकर्ताहरू रहेका छन्। लगातारको उतारचढावपछि साताको अन्तिम दिन बजारमा आएको यो सुधारले लगानीकर्ताहरूमा आगामी साताका लागि सकारात्मक आशा जगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *