कैलालीको टीकापुरमा दौडने क्रममा ७ सशस्त्र प्रहरी बेहोस, उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै

काठमाडाैं, ८ जेठ । कैलालीको टीकापुरमा नियमित शारीरिक अभ्यास (दौड) का क्रममा सशस्त्र प्रहरीका सात जना जवान बेहोस भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा शुक्रबार बिहान ६ बजे दौडिने क्रममा उनीहरू एक्कासि बेहोस भएर ढलेका हुन् । बेहोस भएका सातै जनालाई तत्काल उद्धार गरी उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो ।

अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ (लु) लागेर उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौँ पठाउने निर्णय गरिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउन लागिएको हो ।

कैलालीसहित तराई–मधेसका जिल्लाहरूमा पछिल्लो केही दिनदेखि अत्यधिक गर्मी बढेको छ । तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्दा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । चिकित्सकहरूले यस्तो प्रचण्ड गर्मीमा कडा शारीरिक परिश्रम नगर्न र शीतलतामा बस्न सुझाव दिएका छन् ।