विद्यार्थीलाई मौलिक सीप हस्तान्तरण : म्याग्दीमा चोयाका सामग्री बनाउने तालिम सुरु

काठमाडौँ, जेठ ११ । म्याग्दीको बेनी नगरपालिका-१०, पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई परम्परागत सीप संरक्षण र हस्तान्तरण गर्ने उद्देश्यले चोयाका सामग्री बनाउने तालिम प्रदान गर्न थालिएको छ।

विद्यार्थीहरूलाई मौलिक सीपमा पोख्त बनाउने र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ डोको, दाम्लो, स्याखु लगायतका सामग्री निर्माण सम्बन्धी तालिम सञ्चालन गरिएको हो। बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रमअन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरूका लागि यो तालिम सुरु गरिएको विद्यालयका सहायक प्रधानाध्यापक विजय सुवेदीले जानकारी दिनुभयो ।

एक महिनासम्म सञ्चालन हुने यस तालिममा २० जनाभन्दा बढी विद्यार्थी सहभागी छन् । स्थानीय प्रशिक्षक मनबहादुर परियारले विद्यालयको पठनपाठन बाहेकको समयमा दैनिक एक घण्टा निगालो र बाँसको चोयाबाट विभिन्न सामग्री बुन्ने सीप प्रदान गरिरहनुभएको छ। तालिममा विद्यार्थीहरूलाई डोको, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो र दाम्लो बनाउन सिकाइनेछ ।

पछिल्लो समयमा पुरानो पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुनु र प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगका कारण परम्परागत सीप लोप हुने अवस्थामा पुगेको छ। प्लास्टिकले वातावरण प्रदूषण बढाउने भएकाले विद्यार्थीहरूकै मागअनुसार वातावरणमैत्री चोयाका सामग्री निर्माणमा जोड दिइएको विद्यालयले जनाएको छ। स्थानीय कच्चा पदार्थको प्रयोगबाट आयआर्जनको अवसर सिर्जना हुने र एउटा डोकोको बजार मूल्य रु. १ हजार देखि २ हजार ५ सयसम्म पर्ने भएकाले यसले विद्यार्थीलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बेनी नगरपालिकाले शिक्षालाई श्रम र सीपसँग जोड्न विगत चार वर्षदेखि माध्यमिक तहका विद्यार्थीका लागि विद्यालयमै सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगर प्रमुख सुरत केसीका अनुसार नगरपालिकाले चालू आर्थिक वर्षमा हाउस वायरिङ, प्लम्बिङ, कपाल काट्ने, कुकिङ र प्रेसर कुकर मर्मत जस्ता सीप सिकाउन १४ वटा विद्यालयलाई प्रतिविद्यालय १ लाख रुपियाँका दरले दरले बजेट उपलब्ध गराएको छ ।