प्रधानमन्त्रीको उपस्थिति माग्दै श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीले विरोध जनाउँदै बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्‌मा उपस्थित गराउन सभामुखबाट ‘रुलिङ’ हुनुपर्ने माग राख्दै सो पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले आजको बैठक बहिष्कार गरेका हुन्।

बैठक सुरु हुनासाथ सांसद राईले संसद्प्रति प्रधानमन्त्री जबाफदेही हुनुपर्ने भन्दै आफ्नो माग सम्बोधन नभएसम्म विरोध कायमै रहने अडान राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले उनलाई पटक–पटक आसन ग्रहण गर्न आग्रह गरेका थिए। तर, सभामुखको आग्रहलाई अस्वीकार गर्दै राईले विरोधस्वरूप बैठक हल छाडेका थिए। उनको बहिष्कारपछि संसद्‌मा ‘आकस्मिक समय’ सुरु भएको छ।