भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न: उत्कृष्ट पाँच टोलीलाई १५ हजार नगदसहित सम्मान

भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिकाद्वारा आयोजित दुई दिने ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ शनिबार भव्य समारोहका बीच सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको यस प्रदर्शनीमा नगरका विभिन्न ४६ वटा दाफा टोलीले आफ्नो मौलिक भजन र कला प्रस्तुत गरेका थिए ।

प्रदर्शनीको समापन गर्दै कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले यहाँका मूर्त तथा अमूर्त सम्पदाको संरक्षणलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले सम्पदा पुनर्निर्माणमा भक्तपुरले विदेशी सहयोग नलिई जनताकै सहभागिता र लगानीमा हालसम्म १७८ वटा सम्पदाको सफलतापूर्वक पुनर्निर्माण गरिसकेको जानकारी दिनुभयो ।

पाँच टोली उत्कृष्ट घोषित
प्रदर्शनीमा सहभागी टोलीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने पाँच टोलीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुने टोलीहरूमा:
१. कुथुछें दाफा भजन
२. खिँछें दाफा भजन
३. ज्याथा गणेश दाफा भजन
४. लाकोलाछें चपाल दाफा भजन
५. लाकोलाछें त्वाले दाफा भजन रहेका छन् ।


उत्कृष्ट पाँचै टोलीलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कारका साथै सांस्कृतिक वाद्यवादनका सामग्रीहरू लालाखिङ, तँ, र झ्यालिन्चा प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं पूर्वसांसद प्रेम सुवालले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक वैभवको चर्चा गर्दै यसको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

पछिल्लो समय युवा पुस्तामा मौलिक संस्कृतिप्रति रुचि जगाउन र परम्परागत भजन शैलीलाई जीवन्त राख्न नगरपालिकाले यस्ता प्रदर्शनीलाई निरन्तरता दिँदै आएको छ ।