देशभर साढे ६२ लाख सवारीसाधन दर्ता, ५० लाखभन्दा बढी मोटरसाइकल
काठमाडौँ, १७ जेठ । देशभर दर्ता भएका सवारीसाधनको कुल संख्या साढे ६२ लाख नजिक पुगेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक विवरण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म देशभर कुल ६२ लाख ४९ हजार ७३२ वटा सवारीसाधन दर्ता भएका छन्।
मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउनदेखि फागुन मसान्त) को अवधिमा मात्रै २ लाख ८१ हजार ९२१ वटा नयाँ सवारीसाधन दर्ता भएका छन्। हालसम्म नेपालमा दर्ता भएका कुल सवारीसाधनमध्ये मोटरसाइकलको संख्या सबैभन्दा बढी अर्थात् ५० लाखभन्दा बढी रहेको प्रतिवेदनले देखाएको छ।
सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) तर्फ गत फागुन मसान्तसम्म देशभर कुल ४१ लाख १४ हजार १८१ थान लाइसेन्स जारी भएको छ। जसमध्ये चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ।
यसैगरी, प्रविधिमैत्री इम्बोस्ड नम्बर प्लेटतर्फ चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८७ हजार १४ थान प्लेट उत्पादन भएकोमा ५ हजार १८६ थान मात्र सवारीसाधनमा जडान गरिएको छ।
गत फागुन मसान्तसम्म देशभर कुल ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा हालसम्म जम्मा ८८ हजार ३४० थान मात्र सवारीसाधनमा जडान भएको छ। हाल इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ बमोजिम नम्बर प्लेट जडानको कार्य अघि बढिरहेको भन्सार तथा यातायात क्षेत्रको विवरणमा उल्लेख छ।