वडा नं. १७ मा २० दिने ‘रञ्जना लिपि लेखन प्रशिक्षण’ प्रशिक्षण सुरु

काठमाडौँ, १९ जेठ ।काठमाडौँ महानगरपालिका वडा नं. १७ ले स्थानीय बासिन्दाहरूको मौलिक पहिचान र लिपिको संरक्षण गर्ने उद्देश्यले २० दिने ‘रञ्जना लिपि लेखन प्रशिक्षण’ सञ्चालन गरेको छ । ठँहिटिस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयमा जेठ १३ गतेदेखि सुरु भएको उक्त प्रशिक्षणमा वडाका ३० जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

मौलिकता र पहिचानको जगेर्ना
प्रशिक्षण कार्यक्रममा नियमित रूपमा सहभागी हुँदै वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले रञ्जना लिपि केवल अक्षर मात्र नभई यो एक विशिष्ट अक्षर कला भएको बताउनुभयो । उहाँका अनुसार रञ्जना लिपिले नेपालको राष्ट्रिय गौरवलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रवक्ता मानन्धरले भन्नुभयो, “नेपाल भाषा प्रदेशको कामकाजी भाषा हो र रञ्जना लिपि नेपालको मौलिकताको मानक हो । संयुक्त राष्ट्र संघमा नेपालले आफ्नो स्वतन्त्र अस्तित्व प्रमाणित गर्न रञ्जना लिपिलाई नै आफ्नो मौलिक लिपिका रूपमा प्रस्तुत गरेको इतिहास छ । यस्ता ऐतिहासिक र सांस्कृतिक धरोहरको संरक्षणका लागि यो प्रशिक्षण कोसेढुङ्गा सावित हुनेछ ।” प्रशिक्षणमा ७ वर्षका बालबालिकादेखि ६० वर्षका ज्येष्ठ नागरिकसम्मको सहभागिताले पुस्तान्तरणमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

लिपिको प्राविधिक पक्ष र संरचना
नेपाल लिपि गुथिका अध्यक्ष एवं मुख्य प्रशिक्षक अनिल स्थापितका अनुसार प्रशिक्षणमा नेपाल लिपि, रञ्जना लिपि, अङ्क लेखन र क्यालिग्राफीको प्रयोगात्मक अभ्यास गराइँदैछ । नेपाल भाषा र रञ्जना लिपिको भाषिक संरचनाबारे प्रकाश पार्दै उहाँले यसमा १३ वटा स्वर वर्ण र ४१ वटा व्यञ्जन वर्ण रहने जानकारी दिनुभयो । देवनागरी लिपिको तुलनामा यसमा ‘ङ्ह’, ‘न्ह’, ‘म्ह’, ‘¥ह’ र ‘ल्ह’ जस्ता अतिरिक्त पाँचवटा वर्णहरू रहेका छन्, जसले नेपाल भाषाको मौलिक उच्चारणलाई विशिष्टता प्रदान गर्दछ ।

ऐतिहासिक पृष्ठभूमि र प्रविधिको प्रयोग
नेपालमा नवौँ शताब्दीदेखि नेपाल लिपिको सुरुवात भएको र १०औँ शताब्दीको प्रारम्भमा चिकित्सा सम्बन्धी पुस्तक ‘लङ्कावतार’ लेखिएको ऐतिहासिक तथ्य रहेको छ । १३औँ शताब्दीलाई यो लिपिको स्वर्ण काल मानिन्छ, जतिबेला धर्म, वास्तुकला र साहित्य जस्ता विविध विधामा हजारौँ हस्तलिखित ग्रन्थहरू रचना गरिएका थिए ।

हाल राष्ट्रिय अभिलेख संग्रहालयमा करिब १५ हजार र आशा सफूकुथिमा करिब २० हजार यस्ता हस्तलिखित ग्रन्थहरू सुरक्षित छन् । पुरानो लिपिलाई आधुनिकतासँग जोड्न वि.सं. २०७३ सालदेखि रञ्जना लिपिलाई युनिकोडमा प्रयोग गर्न थालिएको छ । प्रविधिको विकाससँगै अहिले यो लिपि भाषानुवाद र डिजिटल माध्यममा समेत सहजै अध्ययन–अध्यापन गर्न सकिने भएको छ ।

वडा कार्यालयले यस प्रशिक्षणलाई लिपि संरक्षणको अभियानका रूपमा अगाडि बढाएको छ, जसले गर्दा आगामी पुस्तामा आफ्नो भाषा र लिपिप्रति रुचि र दक्षता बढ्ने अपेक्षा गरिएको छ ।