अदालतमा प्रतिकूल बयान दिने साक्षीविरुद्ध अख्तियारको मुद्दा: ५० लाख घुस प्रकरणमा कुरा फेरेपछि कारबाही

काठमाडौँ, १९ जेठ । भ्रष्टाचारसम्बन्धी गम्भीर मुद्दामा अदालतमा उपस्थित भएर प्रतिकूल (होस्टाइल) बयान दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतमले अनुसन्धानका क्रममा दिएको बयानभन्दा फरक कुरा अदालतमा बोलेपछि आयोगले उनीविरुद्ध कारबाही अघि बढाएको हो।

यो प्रकरण चन्द्रबहादुर अधिकारीसँग जोडिएको छ। अधिकारीमाथि सेवाग्राहीलाई ऋण उपलब्ध गराइदिए बापत ५० लाख रुपैयाँ घुस लिएको अभियोग छ, जुन मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ। सोही मुद्दामा आयोगले गौतमलाई मुख्य साक्षीका रूपमा पेस गरेको थियो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, गौतमले अदालतमा बयान दिने क्रममा आरोपीलाई मद्दत पुग्ने गरी तथ्य बङ्ग्याएर प्रतिकूल बयान दिएका थिए। “अनुसन्धानका क्रममा एउटा कुरा भन्ने र अदालतमा पुगेपछि आरोपीलाई जोगाउने नियतले बयान फेर्ने प्रवृत्तिले न्याय सम्पादनमा बाधा पुग्छ,” आयोगले भनेको छ।

आयोगले झुटो बयान दिएका गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही र सजायको माग गर्दै मङ्गलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। पछिल्लो समय अख्तियारले अदालतमा बयान फेर्ने साक्षीहरूमाथि निगरानी बढाउँदै उनीहरूविरुद्ध समेत मुद्दा चलाउने नीति लिएको छ।