प्रधानमन्त्री बालेन साहको अभिव्यक्तिमा भारतको प्रतिक्रियाः दुई छिमेकी देशबीचको आपसी मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका रहँदै
काठमाडौं, १९ जेठ । संसदमा निरन्तर गयल हुनुभएका प्रधानमन्त्री बालेन साहले केही दिन अघि भूमिगत शैलीमा उपस्थित भएर रोष्टम प्रयोग गर्दै सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो । लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे सांसदहरुले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री साहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी पाएको भन्दै हचुवामा जवाफ पर्काउनु भएको थियो ।
‘तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,’ उहाँ त्यतिमा रोकिनु भएन उहाँले थप अघि बढ्दै भन्नुभयो, ‘लिपुलेक र लिम्पियाधुराको विषयमा नेपाल सरकारले आधिकारिक रूपमा ‘डिप्लोम्याटिक नोट’ भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ। दुवै सरकारले आफ्ना इतिहासविद् र सर्भेयरहरू राखेर ‘टेबल टक’ मार्फत यसलाई समाधान गर्ने कुरा भएको छ। ब्रिटिस इन्डियाले छाड्दाखेरिको समस्या अहिलेसम्म रहेकाले यसमा इङ्गल्याण्ड सरकारसँग पनि हामीले कुरा गरेका छौँ। यो कूटनीतिक तवरबाटै समाधान हुन्छ।’
उहाँले त्यतिबेला नेपालले भारतको भूमि मिचेको भन्दै नेपाल र नेपालीको आस्थामा नै चोट पुग्ने कुरा मात्रै गर्नुभएन् । त्यतिबेला उहाँले दुई देशबिचको सीमा विवादमा तेस्रो मुलुकको पनि समावेश गर्ने विवादास्पद भनाई राख्नुभयो । त्यहि भनाइलाई अहिले भारतले खण्डन गरेको छ । द्विपक्षीय सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति भारतले मंगलबार प्रतिक्रिया दिदैँ दुई छिमेकी देशबीचको आपसी मामिलामा ‘कुनै पनि तेस्रो पक्षको भूमिका नरहने’ उल्लेख गरेको छ ।
सञ्चारकर्मीका जिज्ञासाहरूको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले नोटिसमा लिएको बताउँदै सीमा सम्बन्धी विषयहरूलाई विद्यमान द्विपक्षीय संयन्त्रमार्फत सम्बोधन भइरहेको जानकारी दिनुभयो । उहाँले भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत क्षेत्रको सीमांकन भइसकेको छ। दशगजा (नो म्यान्स ल्यान्ड) अतिक्रमणसँग सम्बन्धित विषयहरू सहित केही मुद्दाहरू अझै बाँकी रहेको भन्दै त्यस्ता मामिलाहरूलाई सम्बोधन गर्न द्विपक्षीय संयन्त्रहरू स्थापना उल्लेख गर्नुभयो ।
उहाँले गण्डक नदीले आफ्नो बहाव परिवर्तन गर्दा निश्चित क्षेत्रहरूमा अहिलेको जस्तो परिस्थिति सिर्जना भएको भन्दै उहाँले हाल दशगजा क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ रहेको जनकारी दिनुभयो ।