न्युयोर्कमा आयोजित ‘युएन इन्टरनेशनल बजार’मा नेपालको मौलिक कला र संस्कृति प्रदर्शन
काठमाडौँ, २० जेठ । न्युयोर्कमा आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालले आफ्ना मौलिक सांस्कृतिक सम्पदा र पहिचानका प्रतीकहरू प्रदर्शन गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले उक्त प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्दै समृद्ध सांस्कृतिक सम्पदा र हस्तकलाका सामग्रीहरू प्रस्तुत गरेको हो ।
संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीको क्लब (युएनडिएससी) द्वारा आयोजित वार्षिक ‘युएन इन्टरनेशनल बजार’मा नेपालले आफ्नो स्टल राखेको थियो । सांस्कृतिक विविधता, अन्तर्राष्ट्रिय मित्रता र मानवीय एकताको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त मेलामा नेपाली कला र सीपले विशेष आकर्षण जमाएको थियो ।
नेपाली स्टलमा परम्परागत कला, उत्कृष्ट हस्तकला र नेपालको राष्ट्रिय पहिचान झल्काउने विभिन्न प्रतीकात्मक सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । नियोगका अनुसार नेपाली स्टलमा राखिएका सामग्रीहरूले त्यहाँ पुगेका विभिन्न देशका आगन्तुक र कुटनीतिज्ञहरूको ध्यानाकर्षण गरेको थियो ।
विश्वका विभिन्न मुलुकहरूको सहभागिता रहेको उक्त बजारमा आ–आफ्ना देशका मौलिक उत्पादन, परिकार, कला र संस्कृति प्रदर्शन गरिएको थियो ।
यस्ता कार्यक्रमले संस्कृति र मैत्रीभावका माध्यमबाट विश्वलाई अझ समावेशी, एकताबद्ध र आपसी सम्बन्धमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास नेपाली नियोगले व्यक्त गरेको छ । प्रदर्शनीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्यटन र सांस्कृतिक पर्यटनको प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ ।