जलवायु सङ्कटविरुद्ध जुर्मुराउँदो शुक्लाफाँटा : अब तन्नेरीको काँधमा वातावरण जोगाउने भार

काठमाडौँ, जेठ २४ । जेठको प्रचण्ड गर्मी । तराईको तातो ‘लू’ ले जनजीवन अस्तव्यस्त छ। चुरे फेदीका बस्तीहरूमा पानीका मुहान सुक्दैछन् भने जताततै प्लास्टिकजन्य फोहोरले प्रकृति कुरुप बन्दैछ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका पनि यसबाट अछुतो छैन । तर, यही वातावरणीय सङ्कटका बीच एउटा आशाको दियो बलेको छ, स्थानीय युवाहरूको सक्रियता ।

शनिबार साँझ शुक्लाफाँटामा सम्पन्न ‘पालिकास्तरीय युवा सम्मेलन’ केवल एक औपचारिक कार्यक्रम मात्र रहेन, बरु यो जलवायु सङ्कटविरुद्धको एउटा सङ्कल्प सभामा परिणत भयो । नगरपालिकाको १२ वटै वडाबाट भेला भएका ७० जना युवाहरूको आँखामा चिन्ता मात्र थिएन, केही गर्ने हुटहुटी र प्रतिबद्धता पनि थियो ।

चुरेको चित्कार र युवाको चिन्ता

कञ्चनपुरको जैविक विविधताको मेरुदण्ड मानिने चुरे क्षेत्रको विनाश र बढ्दो प्लास्टिक प्रदूषणले शुक्लाफाँटामा गम्भीर वातावरणीय जोखिम निम्त्याएको छ। सम्मेलनमा सहभागी युवाहरूले जलवायु परिवर्तनका कारण वर्षाको स्वरूप बदलिएको र अस्वाभाविक रूपमा गर्मी बढेकोमा गम्भीर विमर्श गरे ।

“प्रकृति जोगाउनु अब कसैको इच्छाको कुरा मात्र रहेन, यो हाम्रो अस्तित्वको लडाइँ भइसक्यो,” सम्मेलनमा सहभागी युवाहरूको साझा स्वर थियो । उनीहरूले बाँझो जग्गामा बिरुवा रोप्ने र भएका वनस्पतिलाई हुर्काउने व्यावहारिक योजनामा जोड दिए ।

नेतृत्वको आह्वान : ‘युवा नै परिवर्तनका संवाहक’

सम्मेलनमा नगरप्रमुख रणबहादुर महराले वातावरण संरक्षणलाई सरकारी दायित्वबाट माथि उठेर सामुदायिक साझा दायित्वका रूपमा व्याख्या गर्नुभयो। उहाँको जोड थियो,  युवाहरूले अब सामाजिक नेतृत्व र स्वयंसेवामार्फत वातावरणीय अभियानलाई प्रत्येक घरदैलोमा पुर्‍याउनुपर्छ ।

नगर उपप्रमुख कल्पना पन्तले बदलिँदो प्राकृतिक चक्र र चुरे क्षयीकरणले भविष्यमा पानी र खाद्य सुरक्षामा पार्न सक्ने सङ्कटप्रति सचेत गराउनुभयो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले स्वस्थ जीवनशैली र प्रकृतिसँगको सम्बन्धलाई जोड्दै दिगो विकासको बाटो रोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

न्याय, अधिकार र अवसरको पाटो

वातावरण संरक्षणको कुरा उठिरहँदा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीले एउटा महत्वपूर्ण पक्षमा ध्यान खिच्नुभयो, युवा पलायन। “स्थानीय विकास र वातावरण संरक्षणमा युवाहरूलाई अवसर सिर्जना गर्न सके मात्र उनीहरूको नेतृत्व विकास हुन्छ र देश जोगिन्छ,” भण्डारीको भनाइले सम्मेलनमा विकास र वातावरणको अन्तरसम्बन्धलाई प्रस्ट पार्यो ।

प्लास्टिकमुक्त समाज र दिगो अभ्यास

वातावरणविद् केशवराज पन्त र अभियन्ता सरस्वती पुरी बमले प्रस्तुत गरेका तथ्याङ्क र भोगाइले युवाहरूलाई थप गम्भीर बनायो । ‘एकपटक मात्र प्रयोग हुने प्लास्टिक’  लाई कसरी न्यूनीकरण गर्ने र फोहोरलाई स्रोतमै वर्गीकरण गरेर कसरी आम्दानी वा पुन: प्रयोगमा बदल्ने भन्नेबारे युवाहरूले घण्टौँ समूहगत छलफल गरे ।

सङ्कल्प : शब्दमा मात्र होइन, व्यवहारमा

सम्मेलनको अन्त्यमा युवाहरूले एउटा विस्तृत प्रतिबद्धता पत्र जारी गरे। जसमा लेखिएको छ, “हामी हाम्रा घर, विद्यालय र कार्यस्थललाई आफैँ सफा राख्नेछौँ। प्लास्टिकको विकल्प खोज्नेछौँ र वन्यजन्तुसँगको सहअस्तित्वलाई सम्मान गर्नेछौँ ।”

यति मात्र होइन, यो अभियानलाई संस्थागत रूप दिन सन्तोष धामीको संयोजकत्वमा ११ सदस्यीय ‘जलवायु उत्थानशील युवा मञ्च’ समेत गठन गरिएको छ । यो मञ्चले अब शुक्लाफाँटाका हरेक टोलमा जलवायु अनुकूलनका कार्यक्रम लैजानेछ ।

शुक्लाफाँटाका युवाहरूले देखाएको यो तत्परता एउटा पालिकाको मात्र कथा होइन । यो त जलवायु सङ्कटले पिरोलिएको सिंगो पृथ्वीलाई बचाउन तल्लो तहबाटै उठाइएको एउटा सशक्त आवाज हो। जब युवाहरूले आफ्नै हातले बिरुवा रोप्ने र आफ्नै टोलको फोहोर व्यवस्थापन गर्ने कसम खान्छन्, तब मात्र ‘विश्व वातावरण दिवस’ मनाउनुको वास्तविक सार्थकता झल्कन्छ ।

शुक्लाफाँटाका यी तन्नेरीहरूको जोसले एउटै सन्देश दिएको छ. “प्रकृति बचे मात्र हामी बच्छौँ, र प्रकृति बचाउने जिम्मा अब हाम्रै हो ।”