एसियन गेम्स क्रिकेट छनोट: ओमानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौँ, २४ जेठ । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा ओमानलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। यस उत्कृष्ट जितसँगै नेपालले एसियन गेम्सको मुख्य प्रतियोगितामा आफ्नो स्थान समेत पक्का गरिसकेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको ओमानको सुरुवात अत्यन्तै निराशाजनक रह्यो। नेपाली तीव्र गतिका बलर करण केसीले सुरुवाती ओभरमै सफलता दिलाएपछि ओमान ३ ओभरमा ९ रन जोड्दा ३ विकेट गुमाएको नाजुक स्थितिमा पुगेको थियो। मध्यक्रममा सुफ्यान मेहमुदले सर्वाधिक ३८ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानहरू नेपाली बलिङसामु टिक्न सकेनन्। ओमान निर्धारित २० ओभरमा ९४ रनमै अलआउट हुन पुग्यो।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिनुभयो भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पार्नुभयो।
९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गर्यो। ओपनर कुशल भुर्तेलले मात्र ८ बलमा २० रन जोडेर टोलीलाई राम्रो सुरुवात दिलाउनुभयो। प्रारम्भिक ब्याट्सम्यानहरू बाहिरिएपछि लोकेश बम र कप्तान रोहित पौडेलले नेपाली टोलीलाई सहजै जिततर्फ डोर्याउनुभयो। विशेष गरी लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै २६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ४४ रनको महत्त्वपूर्ण इनिङ खेल्नुभयो।