झापाको मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला, सुरक्षित उद्धार

झापा, २४ जेठ । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिकै १५ फिट लामो अजिङ्गर फेला परेको छ। गएराति गोरेटो बाटोको छेउमा देखा परेको उक्त अजिङ्गरलाई प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको हो।

स्थानीय बासिन्दाले राति करिब ११ बजे अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सुमन बानियाँका अनुसार सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरी टोलीले अजिङ्गरलाई नियन्त्रणमा लिएर सुरक्षित रूपमा चौकीमा राखेको छ।

अजिङ्गरको थप व्यवस्थापनका लागि डिभिजन वन कार्यालय बाहुनडाँगीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

वन क्षेत्रको नजिक रहेका यस क्षेत्रका बस्तीहरूमा बेलाबेला अजिङ्गर, हात्ती लगायतका वन्यजन्तु प्रवेश गर्ने गरेका छन्। यस्ता वन्यजन्तु फेला परेमा आफैँ नियन्त्रणमा लिन प्रयास नगर्न, वन्यजन्तु नजिक नगइकन र तत्काल सम्बन्धित निकाय वा सुरक्षाकर्मीलाई जानकारी गराउन प्रहरीले स्थानीयवासीसँग आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *