विश्वकपका लागि अमेरिका पुगेका सोमाली रेफ्रीलाई प्रवेश निषेध, विमानस्थलबाटै फर्काइयो

 

वासिङ्टन / एजेन्सी,  २६ जेठ ।  अमेरिकाले आगामी फिफा विश्वकपमा खेल खेलाउन  छानिएका सोमालियाका चर्चित रेफ्री ओमार आर्टनलाई देश प्रवेशमा रोक लगाएको छ। अमेरिकी गृह सुरक्षा मन्त्रालय (डीएचएस) ले ‘सुरक्षा जाँच’ को कारण देखाउँदै उनलाई मियामीबाट फिर्ता पठाइएको पुष्टि गरेको हो।

विश्वकपका लागि फिफाले छनोट गरेका ५२ मुख्य रेफ्रीहरूको सूचीमा रहेका आर्टन शनिबार फ्लोरिडा पुगेका थिए। डीएचएसका प्रवक्ताले अल जजीरालाई पठाएको इमेलमा भनिएको छ, “सुरक्षा जाँचका क्रममा उनी प्रवेशका लागि अयोग्य देखिएकाले प्रवेश निषेध गरिएको हो।” यद्यपि, उनीसँग अमेरिका जानका लागि वैध भिसा रहेको सङ्केत मिलेको छ, तर अध्यागमन अधिकारीहरूले उनलाई विमानस्थलबाटै फर्काइदिएका छन्।

सोमालिया, राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रमणमा प्रतिबन्ध लगाएका देशहरूको सूचीमा रहेको छ। राष्ट्रपति ट्रम्पले यसअघि पनि सोमाली आप्रवासीहरूका बारेमा अत्यन्तै नकारात्मक टिप्पणी गर्दै उनीहरूलाई ‘कचरा’ को संज्ञा दिएका थिए। आर्टन विश्वकपमा निर्णायकको भूमिका निभाउने पहिलो सोमाली नागरिक बन्ने तयारीमा थिए।

भिसा विवाद र सुरक्षा नीतिको आलोचना
विश्वकप नजिकिँदै गर्दा अमेरिकाको यो कदमले अन्तर्राष्ट्रिय खेलकुद जगतमा हलचल पैदा गरेको छ। यसअघि इरानको राष्ट्रिय फुटबल टोलीलाई पनि भिसा समस्याकै कारण मेक्सिकोमा बस्न बाध्य पारिएको थियो। उनीहरूलाई खेल खेल्न अमेरिका प्रवेशको अनुमति दिइए पनि खेल सकिएलगत्तै मेक्सिको फर्किनुपर्ने सर्त राखिएको छ।

यसैबीच, न्युयोर्कका मेयर जोहरान मामदानीले विश्वकपका बेला रङ्गशालाहरूमा अध्यागमन एजेन्ट परिचालन गर्ने ट्रम्प प्रशासनको योजनाको कडा आलोचना गरेका छन्। उनले भनेका छन्, “आप्रवासीविना फुटबलको अस्तित्व सम्भव छैन। हाम्रो देशले कसैको जाति वा राष्ट्रियताका आधारमा प्रतिबन्ध लगाउनु हुँदैन।”

मुस्लिम अधिकारवादी संगठन ‘केयर’  का उप-निर्देशक एडवर्ड अहमद मिचेलले पनि यसको विरोध गर्दै भनेका छन्, “सबै प्रक्रिया पूरा गरेर आएका पाहुनालाई राष्ट्रियताकै आधारमा फर्काउनु अमेरिकी मूल्य-मान्यता र कानुनको अपमान हो।”

विष्फोटका बीचबाट विश्वकपको सपना
केही समयअघि मोगादिसुमा अल जजीरासँग कुरा गर्दै रेफ्री आर्टनले सोमालियाको गृहयुद्ध र सङ्घर्षका बीच विश्वकपसम्म पुग्नु आफ्नो लागि ठूलो सम्मानको कुरा भएको बताएका थिए। उनले कतिपय अवस्थामा प्रशिक्षणका लागि रङ्गशाला जाँदा बाटोमा हुने बम विष्फोटका कारण मार्ग नै परिवर्तन गर्नुपरेको पीडा सुनाएका थिए।

“रेफ्रीको रूपमा तपाईँले हार मान्नु हुँदैन। मेरो एउटा लक्ष्य थियो, र विश्वकप जस्तो ठाउँमा पुग्न मैले धेरै सङ्घर्ष गरेको छु,” उनले भनेका थिए।

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको यस विश्वकपमा फिफाले भने हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। अमेरिकी अध्यागमन विभागले भने जुनसुकै खेलाडी वा अफिसियल भए पनि प्रवेशको अन्तिम निर्णय भन्सार तथा सीमा सुरक्षा  अधिकारीहरूको हातमा रहने स्पष्ट पारेको छ। (स्रोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)