प्रकृति र संस्कृतिको अनुपम सङ्गम ‘श्रीमञ्ज्याङ लामागाउँ’ : पर्यटनबाटै समृद्धि खोज्दै स्थानीय
लमजुङ, २६ जेठ । परम्परागत मौलिक घरहरू, ढुङ्गाले छापिएका सफा चोक र बाटाहरू, अनि बौद्ध धर्मको सुगन्ध । लमजुङको दोर्दी गाउँपालिका–३ मा अवस्थित श्रीमञ्ज्याङ लामागाउँ यतिबेला आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा उदाउँदै छ ।
प्रकृति र संस्कृतिको सुन्दर संयोजन रहेको यो गाउँ धार्मिक आस्था र साहसिक पदयात्राका दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिएको छ ।
बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको यस गाउँमा दुईवटा भव्य गुम्बा र चारवटा छोर्तेनहरू रहेका छन् । म्हाँजा नासो तमु समाजका अध्यक्ष इन्द्रजित गुरुङका अनुसार यहाँको ऐतिहासिक एवं धार्मिक महत्वलाई पर्यटनसँग जोड्न पछिल्लो समय विशेष पहल थालिएको छ । स्याङगे छ्योलिङ र फुर्ब सन्दुप ढोनाक छयोलिङ गुम्बाका साथै विभिन्न छोर्तेनहरूले गाउँको महिमा बढाएका छन् ।
बसाइँसराइको चपेटामा परिरहेको यो गाउँलाई पुनः गुल्जार बनाउन स्थानीयले घरवास (होमस्टे) सुरु गरेका छन् । वि.सं. २०७६ मा सातवटा घरबाट सुरु भएको होमस्टे अहिले १२ वटा घरमा विस्तार भइसकेको छ । “हामीसँग एकै दिन ६० जनासम्म पर्यटकलाई राख्न सक्ने क्षमता छ,” अध्यक्ष गुरुङले बताए । पर्यटकहरू यहाँको स्थानीय खाना र न्यानो आतिथ्यतामा रमाउने गरेका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले यस गाउँलाई अन्नपूर्ण र मनास्लु चक्रीय पदमार्गसँग जोड्ने योजना अघि सारेको छ । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार नौथर सेराबाट सुरु भई श्रीमञ्ज्याङ, इलमपोखरी हुँदै लिपेलेकसम्म पुग्ने ५ दिने पदमार्ग प्रवद्र्धन गरिएको छ ।
यस वर्षको ७६औँ अन्नपूर्ण आरोहण दिवस समेत यसै गाउँमा मनाइनुले यसको पर्यटकीय महत्वलाई विश्वस्तरमा पुर्याउन सहयोग पुगेको छ ।
पर्यटकलाई आकर्षित गर्न गाउँको सिरानमा भ्यू-टावर निर्माण गरिएको छ । त्यस्तै, करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानले गाउँको सौन्दर्यमा थप निखार ल्याएको छ । चिया बगान र मौलिकोट अर्गानिक एग्रो फार्ममा पर्यटकहरूले अर्गानिक उत्पादनको स्वाद लिँदै रमाउन पाउने व्यवस्था मिलाइएको छ ।
पर्यटकीय सम्भावना प्रचुर भए पनि सडक पूर्वाधार अझै मुख्य चुनौतीका रूपमा रहेको छ । लामा बगरदेखि लामागाउँसम्मको ८ किलोमिटर बाटो सुधार गर्नुपर्ने आवश्यकता वडाध्यक्ष कृष्णबहादुर गुरुङले औँल्याए । “हाडीखोलाबाट गाउँपालिका कार्यालयसम्मको बाटो कालोपत्रे हुँदैछ, तर लामागाउँ जोड्ने बाटो तत्काल बनाउनु पर्नेछ,” उनले भने ।
मौलाकोट, देवीस्थान मन्दिर र गुम्बाहरूको दर्शन गर्दै चिया बगानमा रमाउन चाहनेहरूका लागि श्रीमञ्ज्याङ लामागाउँ एक उत्कृष्ट विकल्प बनेको छ । स्थानीय सरकार र सरोकारवाला निकायले पूर्वाधारमा ध्यान दिने हो भने यो गाउँ लमजुङकै नमुना पर्यटकीय केन्द्र बन्ने निश्चित छ ।