रास्वपामा चार सय प्रतिनिधिविरुद्ध उजुरी परेपछि बागमती प्रदेश अधिवेशन स्थगित

काठमाडौँ, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा सहभागी प्रतिनिधिमध्ये चार सय जनाका विरुद्धमा उजुरी परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ।

मङ्गलवारदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधिहरूको योग्यतासम्बन्धी विवाद र उजुरी परेका कारण पूर्वनिर्धारित मतदान प्रक्रिया स्थगित भएको हो।

निर्वाचन समितिका अनुसार अधिवेशनका लागि कुल १३ सयभन्दा बढी प्रतिनिधि छनोट भएका थिए। तर, पार्टी समायोजनका क्रममा विभिन्न दलबाट भित्रिएका सदस्यहरूबाट बनेका प्रतिनिधिहरूका विरुद्ध व्यापक उजुरी परेपछि विवाद सिर्जना भएको हो।

बुधबार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका भए पनि विवाद निरूपण हुन नसक्दा निर्वाचन नै स्थगित भएकाे समितिले जनाएकाे छ।